काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराउनुभएको थियो ।
मूल समारोह समितिका संयोजक एवं शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो । उहाँले योग र ध्यानलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने भएकाले यसलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रुपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थालाई सहकार्यमा आउन आग्रह गर्नुभयो ।
ओशो तपोवनका आनन्द अरूणले नेपाललाई ध्यान केन्द्र बनाउन सकिने बताउँदै आर्थिक रूपमा सम्पन्न मुलुकमा पनि मानसिक सन्ताप हुने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा ‘आर्ट अफ लिभिङ नेपाल’ का प्रशिक्षक डा कञ्चन घिमिरे, ब्रम्हकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले ध्यान अभ्यास गराउनुभएको थियो ।
गत वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१डिसेम्बर लाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ ।
