मधेस प्रदेशको सभामुखमा यादव

राजनीति

जनकपुर, ६ पुसः मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएको छ ।

प्रदेशसभा बैठकमा आज भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका यादव निर्वाचित हुनुभएको हो । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित भएको घोषणा गर्नुभयो ।

यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गर्नुभएको थियो । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।