लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि नीतिगत संवाद

राजनीति समाचार

काठमाडौँ, ९ पुसः नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ ।

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आज यहाँ नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा विज्ञहरूको सहभागितामा नीतिगत संवाद गरिएको हो ।

कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायमाथि छलफल गरिएको छ । संवादको उद्देश्य महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यमलाई सहयोग पुग्ने नीतिगत तथा कार्यक्रमगत प्रतिक्रियाहरू सुदृढ गर्नु रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महिलाको भूमिका, घरबास तथा आवास सेवा, हस्तकला, खाद्य सेवा, समुदायमा आधारित पर्यटन प्रवर्द्धनलगायत विषयमा सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाको योगदानको विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राकृतिक विपद्, कोभिड–१९ महामारी, जलवायु परिवर्तनको जोखिम तथा आर्थिकमन्दीलगायत सङ्कटका समयमा महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यम बढी प्रभावित भएकाले वित्त, बजार, सीप, प्रविधि र संस्थागत सहयोगमा रहेका समस्याहरूको समाधानका विषयमा छलफलमा भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धनसम्बन्धी यो कार्यशाला महत्वपूर्ण रहेको बताउनुभयो । “नेपालमै आन्तरिक पुँजी परिचालन गरेर काम गर्न सकिन्छ र यहाँ सम्भावनाहरू छन् भन्ने सन्देश हामीले दिन खोजेका छौँ”, उहाँले भन्नुभयो, “यहाँको पुँजी लगानी गरेर ठूला परियोजना सञ्चालन गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।”

आर्थिक विकासका लागि नवप्रवर्द्धन एकेडेमी (एकयाड), नेपालकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापाले नीतिगत प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको दूरी घटाउन संवाद कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । “पर्यटन क्षेत्रको पुनःरुत्थान र रूपान्तरणको केन्द्रमा लैङ्गिक उत्तरदायित्व, दिगोपन र सहनशीलतालाई राख्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन पुनःरुत्थान र वृद्धिमा लैङ्गिक उत्तरदायित्वलाई मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “समुदाय तहमा महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यमहरू नेपालको पर्यटन प्रणालीका मेरुदण्ड हुन् । तिनको सहनशीलता अभिवृद्धि र प्रभावकारी नीतिगत समर्थन बिना समावेशी, प्रतिस्पर्धी र दिगो पर्यटन सम्भव छैन”, उहाँले भन्नुभयो ।

‘लैङ्गिक उत्तरदायी पर्यटन उद्यमशीलता तथा उद्यम दिगोपन’ र ‘महिला नेतृत्वद्वारा सञ्चालित पर्यटन उद्यमको सहनशीलता अभिवृद्धि’ विषयमा छलफल केन्द्रित गरिएको थियो । सहभागीहरूले आर्थिक, जलवायु तथा बजारसम्बन्धी जोखिमसँग जुध्नसक्ने नीतिगत उपाय, असल अभ्यास र उद्यम तहका रणनीतिबारे विचार आदानप्रदान गर्नुभएको थियो ।

‘पर्यटनमा महिला उद्यमशीलताः नीतिगत प्रतिबद्धताबाट व्यवहारिक कार्यान्वयनसम्म’ र ‘समावेशी तथा सहनशील पर्यटन वृद्धिः सहकार्य र कार्यान्वयनका प्राथमिकता’ शीर्षकका दुई समूहमा भएको छलफलमार्फत सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रका लागि प्राथमिक कार्यदिशा पहिचान गरिएको थियो ।

उक्त नीतिगत संवादबाट नीतिसम्बन्धी महत्वपूर्ण सुझावहरू प्राप्त हुनुका साथै सरोकार भएका निकायका बीचमा समन्वय सुदृढ हुनुका साथै आगामी दिनमा महिलाद्वारा सञ्चालित उद्यममा आर्थिक सशक्तीकरण तथा समावेशी पर्यटन वृद्धिका पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।