पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

आर्थिक समाचार

नारायणगढ (चितवन), ११ पुस : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उहाँले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराउनुभयो । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताउनुभयो । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उहाँको भनाइ थियो ।

भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्घनमा उल्लेखनीय योगदान पु¥याएको मुख्यमन्त्री बानियाको धारणा थियो ।

सौराहाको बाघमारा चौरमा आजदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सुरु भएको हो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।