काठमाडौँ, ११ पुस : साहित्य र कलाबारे माओको दृष्टिकोणमाथि वैचारिक छलफल भएको छ । माओको १३३औँ जन्म जयन्तीका अवसरमा भएको छलफलमा साहित्यकार एवं लेखकहरूले माओको कला र राजनीतिक दर्शन समाज रुपान्तरणका लागि महत्त्वपूर्ण आधार रहेको धारणा राखेका थिए ।
प्रगतिशील लेखक सङ्घ नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा विष्णु प्रभातले ‘एनान गोष्ठीको दार्शनिक पक्ष’ बारे विचार व्यक्त गर्नुभएको थियो । उहाँका अनुसार चीनमा वैज्ञानिक विचार र नवीन दर्शन स्थापित गर्न माओले साहित्यिक र रचनात्मक सङ्घर्ष गर्नुपरेको थियो । अर्का लेखक तेजविलास अधिकारीले ‘माओको साहित्यमा वर्गीय पक्षधर’ विषयमा धारणा प्रस्तुत गर्नुभयो । चिनियाँ क्रान्तिलाई सफल बनाउन, जापानको दबाबबाट मुक्त हुन र चिनियाँ जनताको आकाङ्क्षा सफल बनाउन ८० वर्ष पहिले माओले गरेको विमर्श प्रशसंनीय रहेको अधिकारीले बताउनुभयो ।
त्यस्तै अर्का वक्ता प्रकाश थापाले प्रगतिवादी साहित्यको लोकप्रियता विषयमा विचार राख्नुभयो । “माओले जनता को हुन्, भन्ने परिभाषा बेग्लै ढङ्गले गर्नुभएको छ”, उहाँले भन्नुभयो । माओको दृष्टिमा सर्वहारा वर्ग वास्तविक जनता रहेको थापाले प्रष्ट पार्नुभयो । किसान, मजदुर, सिपाहीलाई माओले वास्तविक जनताको मान्यता दिनुभएको उहाँको भनाइ थियो ।
सावित्री ‘सी’ले माओलाई सही तरिकाले बुझ्न सकिएन भने माक्र्सवाद र लेनिनवादलाई बुझ्न कठिन हुने बताउनुभयो । प्रतिष्ठानका कुलपति भुपाल राईले साहित्य र राजनीति समाज रुपान्तरणका समानान्तर आधार भएकाले साहित्यको योगदान अझै प्रभावकारी हुने उल्लेख गर्नुभयो । सङ्घका उपाध्यक्ष समिर सिंहले कुनै पनि समाजको विचार निर्माण गर्न साहित्यिक तथा राजनीतिक विचारविमर्शको आवश्यकता औँल्याउनुभयो ।
