काठमाडौँ, १२ पुसः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेकाले लोकतान्त्रिक दलहरूले निर्वाचनको विकल्प खोज्न नहुनेमा जोड दिनुभयो ।
कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले अहिले नवयुवाको आकर्षणको केन्द्र आफ्नो पार्टी बनेको र देशभरिबाट युवा पार्टी निर्माणमा जुट्ने क्रम जारी रहेको बताउँदै सहसंयोजक नेपालले विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने प्रष्ट पार्नुभयो । चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूको परीक्षा सुरु भएको बताउँदै उहाँले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिनुभयो ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट नेकपा (एमाले) परित्याग गरेका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताउनुभयो ।
