काठमाडौँ, १४ पुसः नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त कृषि कार्य समूहको नवौँ बैठक सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयोजित दुईदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको हो । नेपालका तर्फबाट मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र भारत सरकार, कृषि तथा किसान कल्याण मन्त्रालयका ‘अपर सचिव’ डा प्रमोदकुमार मेहेरले बैठकको सहअध्यक्षता गर्नुभएको थियो ।
सन् २०२५ अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोगसम्बन्धी नयाँ समझदारीपत्र’ अन्तर्गत बसेको यो पहिलो बैठक हो । बैठकमा दुवै देशका प्रतिनिधिले आआफ्नो देशको कृषि नीति, प्राथमिकता र हालका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।
सन् २०२४÷२५ मा नेपाल र भारतबीचको द्विपक्षीय कृषि व्यापार एक दशमलव छ अर्ब अमेरिकी डलर नाघेको तथ्य प्रस्तुत गर्दै दुवै पक्षले व्यापार सम्बन्धलाई थप सन्तुलित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका सहसचिव एवं कृषि मन्त्रालयका प्रवक्ता डा जानुका पण्डितले जानकारी दिनुभयो ।
भारतीय पक्षले ‘छिमेकी पहिला’ नीतिअनुरूप नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा सहयोग गर्न इच्छा प्रकट गरेको थियो । व्यापार सहजीकरणको सन्दर्भमा नेपालले आफ्ना आठ प्रकारका कृषिजन्य उत्पादनको प्रयोगशाला परीक्षण भारतले मान्यता दिएकामा धन्यवाद ज्ञापन गर्दै सूची विस्तार र भारतीय बजारमा व्यवस्थित पहुँच सुनिश्चित गर्न अनुरोध गरेको जनाइएको छ ।
बैठकमा डिजिटल कृषि, जलवायु अनुकूल खेती, प्राकृतिक खेती प्रणाली, खाद्यान्न सुरक्षालगायत आधुनिक प्राविधिक क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको प्रवक्ता डा पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै देशले आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । साथै, रासायनिक मल आपूर्ति, कृषि पूर्वाधार विकास, खाद्य गुणस्तर र क्वारेन्टाइनसम्बन्धी प्राविधिक समस्याहरू समाधानका लागि सहकार्य गर्ने सहमति भएको छ । आगामी बैठक भारतमा आयोजना गर्नेसमेत निर्णय भएको छ ।
