गण्डकी, १७ पुसः सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरियाका अनुसार गत वर्ष कुल दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र आएका छन् ।
उहाँका अनुसार सन् २०२४ मा कूल दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
साथै सन् २०२३ मा एक लाख ९१ हजार ६६६ जना र सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ जना पर्यटकले भ्रमण गरेका थिए ।
अन्नपूर्ण क्षेत्र अन्नपूर्ण प्रथम हिमालदेखि कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
विशेष गरी पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण क्षेत्र पछिल्लो समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएन(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद अचार्यले जानकारी दिनुुभयो ।
सन् २०२५ मा विभिन्न चुनौतीका बाबजुद पर्यटकको आगमन भने उत्साहजनक नै भएको उहाँले बताउनुुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताका कारण पर्यटकहरू लोभिने गरेका छन् ।
तथ्याङ्कअनसार गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने त्यसपछि क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक छन् ।
