काठमाडौँ, २१ पुसः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी फागुनमा हुने निर्वाचनमार्फत देशमा विद्यमान समस्याको निकास निकाल्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने धारणा राख्नुभयो ।
शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सहसंयोजक नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, बेरोजगारी र युवाको बहिर्गमनले देशको सामाजिक, आर्थिक सङ्कट निरन्तर गहिरिँदै गइरहेको बताउँदै उहाँले सङ्कटबाट देशलाई जोगाउन समस्त कम्युनिष्ट, वामपन्थरू, प्रगतिशील शक्ति, देशभक्त र लोकतन्त्रप्रेमीबीच राष्ट्रिय एकता निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सहसंयोजक नेपालले सबै कम्युनिष्ट र वामपन्थी शक्तिलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्ने उद्देश्यले १७ वटा वाम समूहलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँले मुलुकको सामाजिक, आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, सुशासन कायम गर्ने, युवाका लागि रोजगारी सिर्जना गर्नेलगायत तत्कालिक समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले अब सामाजिक रुपान्तरणका लागि आधारभूत सिद्धान्तका आधारमा देशलाई समाजवादतिर अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो ।

