काठमाडौं, २१ कार्तिक ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
आयोगका अनुसार, आजै दिउँसो १:३० देखि ३:०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११:०० बजेदेखि ५:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११:०० देखि दिउँसो १:३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, सोही दिन दिउँसो ३:००देखि ५:०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३:०० देखि अपराह्न ५:०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११:०० अपराह्न ४:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
पोखरा– कास्की निर्वाचन क्षेत्र नं २ मा मङसिर १४ गते हुनलागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयन गरिने भएको छ । घोषित निर्वाचन कार्यतालीका अनुसार आज बिहान १०.०० बजेबाट दिउँसो १.०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
मनोनयन दर्ताका लागि उम्मेदवारले एक÷एक जना प्रस्तावक र समर्थकसहित रु १० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।
राजनीतिक दलले जुलुससहित निर्वाचन कार्यालयमा पुगी उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई बिहान ११.०० बजे उपस्थितिका लागि आमन्त्रण गरेको छ भने नेपाली काङ्ग्रेसले पोखरा सभागृहमा १०.३० बजे आमन्त्रण गरेको छ ।
अन्य राजनीतिक दलले पनि उम्मेदवारी मनोनयन गर्न जान पार्टीका नेता तथा कार्यकतालाई बोलाएका छन् । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो । नेकपाले स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पोखरा महानगरपालिकाअन्तर्गत ११ वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उम्मेदवार मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
