गोपाल गिरी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सानिध्यमा रहेर काम गर्नुभएका, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा एवं नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय महामन्त्री हुनुहन्छ । वि.सं २०३३ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुभएका उहाँ कांग्रेसका संस्थापक गणेशमान सिंह, कृष्ण, प्रसाद भट्टराईसँग पनि नजिक रहेर कार्यगर्नु भएको थियो । अझै तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शुशील कोइरालासँग उहाँको अन्तरंग सम्बन्धनै रहेको थियो । अहिले नेपाली कांग्रेस १५ औं महाधिवेशनको तयारीमा छ । गत भदौमा भएको जेन–जी पुस्ताको विद्रोह पछि सिर्जना भएको परिस्थिति र त्यसपछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेसँगै अहिले कांग्रेस महाधिवेशन र निर्वाचनको दोहोरो तयारीमा जुट्नु पर्नेछ । तर महाधिशेनको विषयले अहिले कांग्रेसमा अन्तरकलहको अवस्था पनि देखिएको छ । प्रस्तुत छ यसै विषयमा रहेर उहाँसँग गरिएको कुराकानी :
तपाईं बीपी कोइरालालाई नजिकबाट चिन्ने र उहाँको विचारबाट प्रशिक्षित नेता हुनुहुन्छ । आजको नेपाली कांग्रेस र बीपीले परिकल्पना गरेको कांग्रेसबीच कति अन्तर पाउनुहुन्छ ?
बीपीले कांग्रेसलाई एउटा विचार, एउटा आन्दोलन र एउटा संस्कारको रूपमा स्थापित गर्नुभएको थियो । उहाँले भन्नुहुन्थ्यो— ‘पार्टी’ भनेको गाउँको झुपडीमा बस्ने गरिब किसानको अनुहार हेरेर चल्नुपर्छ । बीपीसँग युवा विद्यार्थी देखि पाका नेताहरुको भावनाको नेतृत्व गर्दै क्षमता हेरेर उनीहरुलाई जिम्मेवारी दिने क्षमता थियो । फेरी सम्पूर्ण कर्यकर्ता र नेताहरुको जोखिमपूर्ण कामको नैतिक जिम्मेवारी लिने साहस उहाँमा थियो । तर आज कांग्रेसमा अलिकति विचलन देखिएको छ । विचारभन्दा सत्ता र आदर्शभन्दा अवसरवाद हावी भएको महसुस हुन्छ । यद्यपि, कांग्रेसको जग बलियो छ । हामी जस्ता पुराना कार्यकर्ताको चिन्ता यति मात्र हो कि कांग्रेस आफ्नो मूल बाटोबाट नभड्कियोस ।
अहिले राजनीतिमा ‘जेन–जी’ (Gen-Z) अर्थात् नयाँ पुस्ताको हस्तक्षेप र आन्दोलनको चर्चा छ । कांग्रेसभित्र पनि नयाँ पुस्ताले नेतृत्व परिवर्तनको ठूलो दबाब दिइरहेको देखिन्छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
परिवर्तन संसारको नियम हो । नयाँ पुस्तामा उत्साह छ, प्रविधिको ज्ञान छ र काम गर्ने तीव्र इच्छा छ । यसलाई म ुजेन–जीु आन्दोलन भन्दा पनि चेतनाको लहर भन्न रुचाउँछु । तर, एउटा कुरा बिर्सनु हुँदैन— ‘अनुभवविनाको उत्साह र इतिहासविनाको वर्तमान दिगो हुँदैन ।’ कांग्रेसमा पुरानाको अनुभव र नयाँको ऊर्जाको ‘फ्युजन’ आवश्यक छ । नयाँ पुस्ताले गाली गरेर मात्र पुग्दैन, बीपीको समाजवादलाई आधुनिक युग सुहाउँदो बनाएर लैजाने ल्याकत पनि राख्नुपर्छ । अहिले एउटा भाष्य सुनिन्छ कि ५० नाघेका नेताहरुबाट केहीं हुँदैन । यो पूर्णरुपमा गलत छ । पाका नेताहरु हिजोका युवा नेतृत्व र आन्दोलन नेतृत्व गरेर यहाँसम्म आएक ह्न् । उहाँहरुमा अनभव र क्षमता छ । यसलाई अबमुल्यन गर्नु हुँदैन । जहाँसम्म युवा पुस्ताको नेतृत्वको चाहनालाई म सम्मान गर्न चाहन्छु । हामी उहाँहरूलाई मार्गदर्शन गर्न तयार छौँ ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन (राष्ट्रिय सभा र रिक्त पदहरू) कांग्रेसका लागि कति महत्त्वपूर्ण छ ? यसले पार्टीको भविष्य कसरी निर्धारण गर्छ ?
फागुन २१ को निर्वाचन केवल एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो कांग्रेसको जनमत र पार्टीभित्रको एकताको कसी पनि हो । यसले आगामी आम निर्वाचनको मार्गचित्र तय गर्छ । यदि हामीले सही उम्मेदवार चयन गर्न सकेनौँ र कार्यकर्ताको भावना बुझ्न सकेनौँ भने परिणाम सोचे जस्तो नआउन सक्छ । यो निर्वाचनमा कांग्रेसले आफूलाई ुएकढिक्काु छ भन्ने सन्देश दिनुपर्छ । यो चुनाव हाम्रो अस्तित्व र प्रभावकारिता देखाउने अवसर पनि हो ।
चुनावको तयारीका सन्दर्भमा कांग्रेसले अहिले कुन रणनीति अपनाउनुपर्छ जस्तो लाग्छ ?
पहिलो कुरा, टिकट वितरणमा ‘त्याग र योगदान’ लाई मुख्य आधार बनाइनुपर्छ । दोस्रो, गठबन्धनको नाममा कांग्रेसको संगठन कमजोर हुनुहुँदैन । हामीले आफ्ना मतदातालाई भरोसा दिलाउन सक्नुपर्छ कि कांग्रेस अझै पनि मुलुकको नेतृत्व गर्न सक्षम छ । तेस्रो, हाम्रो चुनावी एजेन्डा स्पष्ट हुनुपर्छ— सुशासन, आर्थिक विकास र लोकतन्त्रको रक्षा । केवल सत्ता जोगाउने खेलमा मात्र लाग्नुभन्दा जनताको घरदैलोमा पुग्ने तयारी गर्नुपर्छ ।
अहिले कांग्रेसभित्र १५ औं महाधिवेशनको तिथि र प्रक्रियालाई लिएर आन्तरिक कलह चर्किएको छ । अर्कोतिर फागुन २१ को निर्वाचन र अन्य उपनिर्वाचनहरू नजिकिँदै छन् । के कांग्रेसले यी दुवै चुनौतीपूर्ण कामलाई एकैसाथ सफलतापूर्वक अगाडि बढाउन सक्छ ?
हेर्नुहोस, नेपाली कांग्रेस एउटा ठूलो र ऐतिहासिक पार्टी हो । यसका सामु चुनौतीहरू सधैं आइरहन्छन् । तपाईंले भन्नुभए जस्तै महाधिवेशन र निर्वाचन दुवै महत्त्वपूर्ण हुन् । तर यसलाई कलह भन्दा पनि पार्टी भित्रको ुलोकतान्त्रिक जीवन्तता भन्नुपर्छ । जहाँसम्म दुवै काम एकैसाथ अघि बढाउने कुरा छ, यसका लागि निम्न तीनवटा आधार आवश्यक रहेको म देख्दछु :
१. समय व्यवस्थापन र कार्यतालिकामा स्पष्टताः महाधिवेशन भनेको घरभित्रको सरसफाइ हो भने निर्वाचन भनेको छिमेक वा मैदानको प्रतिस्पर्धा हो । घर सफा राखे मात्रै छिमेकमा इज्जत बढ्छ । त्यसैले नेतृत्वले महाधिवेशनको स्पष्ट कार्यतालिका घोषणा गरेर कार्यकर्तामा रहेको अन्योल चिर्नुपर्छ । जब कार्यकर्ताले पार्टीको भविष्य सुनिश्चित् देख्छन्, उनीहरू चुनावमा दोब्बर उत्साहका साथ खटिन्छन् ।
२. गुटबन्दीभन्दा संगठन माथिः अहिले देखिएको मुख्य समस्या विचारको ‘टक्कर’ भन्दा पनि गुटको स्वार्थु हो । महाधिवेशनको तयारी गर्दा कसले जित्छ भन्नेभन्दा पनि कांग्रेस कसरी बलियो हुन्छ भन्ने सोच्नुपर्छ । फागुन २१ को चुनावमा उम्मेदवार छनोट गर्दा गुट हेर्नु हुँदैन । यदि हामीले महाधिवेशनको आन्तरिक खिचातानीलाई चुनावको टिकट वितरणमा मिसायौँ भने दुवैतिर क्षति हुन्छ ।
३. नयाँ पुस्ताको परिचालनः पार्टी भित्र जुन ‘जेन–जी’ वा युवा पुस्ताको सक्रियता छ, उनीहरू महाधिवेशनमार्फत् रूपान्तरण चाहन्छन् । नेतृत्वले यो ऊर्जालाई चुनावी तयारीमा प्रयोग गर्नुपर्छ । महाधिवेशनले पार्टी सुधार्छ र चुनावले देश सुधार्छू भन्ने भावना जगाउन सकेमा यी दुवै कार्यलाई सँगै लैजान सकिन्छ ।
तर कतिपयले त महाधिवेशनको विवादले चुनावलाई प्रत्यक्ष असर गर्छ र कार्यकर्तामा निराशा आउँछ भनिरहेका छन् नि ?
हो, यदि नेतृत्वले बुद्धिमत्ता देखाएन भने जोखिम छ । बीपी कोइरालाको पालामा पनि विवाद हुन्थे, तर चुनाव आउँदा सबै एकै ठाउँमा उभिन्थे । अहिलेको नेतृत्वले पनि के बुझ्नुपर्छ भने— पार्टी नै नरहे कसको महाधिवेशन गर्ने ? र महाधिवेशन नै नभए चुनावमा कसरी नयाँ एजेन्डा लिएर जाने ? त्यसैले मेरो विचारमा, फागुन २१ को निर्वाचनलाई १५ औं महाधिवेशनको ‘प्रि–टेस्ट’ (पूर्व अभ्यास) का रूपमा लिनुपर्छ । चुनावमा जसले राम्रो परिणाम ल्याउन भूमिका खेल्छ, महाधिवेशनमा उसैको पल्ला भारी हुने वातावरण बनाउनुपर्छ । यसो गर्दा कलह स्वस्थ प्रतिस्पर्धाुमा बदलिन्छ । अहिलेको आन्तरिक कलहलाई थाती राखेर न्यूनतम सहमति खोजिनुपर्छ । महाधिवेशनले नयाँ नेतृत्व र विचार दिन्छ, जसले आगामी आम निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन मद्दत पुर्याउँछ । त्यसैले चुनाव र महाधिवेशन एकअर्काका बाधक होइनन्, पूरक हुन् । हामी जस्ता पुराना कार्यकर्ताको दबाब यही छ— पार्टीभित्रको लोकतन्त्र बचाउनुहोस् र बाहिरको लोकतन्त्र जित्न तयार हुनुहोस् ।
नेपाल प्रजातात्रक सेनानी संघको महामन्त्रीको हैसियतले भन्नुपर्दा, पार्टीले पुराना सेनानी र योगदान गर्नेहरूको उचित सम्मान नगरेको गुनासो छ नि ?
यो गुनासो सत्य हो र म यसमा निकै गम्भीर पनि छु । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य योगदान पु¥याउने, निरंकुशता विरुद्ध लड्ने, देशका लागि त्याग र समर्पणको उच्च नमुना प्रस्तुत गरेका प्रजातन्त्र सेनानीहरु नेपाली कांग्रेस पार्टीको जग र प्रेरणाका स्रोत हुन् । तर पार्टी र सरकारले उचित ध्यान दिएको देखिंदैन । हामी नेतृत्वमा आएपछि सरकारले प्रजातन्त्र सेनानीको सत्य–तथ्य खोजविन गरी अभिलेख राख्न प्रजातन्त्र सेनानी आयोग गठन गर्नुपर्छ र पार्टीमा विधान संशोधन गरेर वडा देखि केन्द्रसम्म आरक्षणको व्यवस्था गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका छौं । जेलनेल खाए, जसले पञ्चायतविरुद्ध टाउको फुटाए, शहादत भए आज उनीहरू ओझेलमा पर्नु चिन्ताजनक हो । हामीले नेतृत्वलाई बारम्बार भन्दै आएका छौं, कि— ‘जसले इतिहास बिर्सिन्छ, उसले भविष्य निर्माण गर्न सक्दैन ।’ प्रजातान्त्र सेनानीहरूको सम्मान भनेको कांग्रेसको आफ्नै जगको सम्मान हो । हामी उनीहरूको मर्यादा र उचित भूमिकाका लागि लडिरहेका छौं ।
अन्त्यमा, देशभरका कांग्रेस कार्यकर्ता र विशेषगरी युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
निरास नहुनुहोस्, कांग्रेस लोकतन्त्रको पर्यावाची हो । पार्टीभित्र देखिएका केही विकृतिहरू क्षणिक हुन् । बीपीले भन्नुभएको ‘आध्यात्मिक चिन्तन र राजनीतिक सक्रियता’लाई आत्मसात गर्नुहोस् । नयाँ साथीहरूले अध्ययन बढाउनुहोस् र पुराना साथीहरूले नयाँलाई ठाउँ दिन कन्जुस्याइँ नगर्नुहोस् । फागुन २१ को चुनावमा एकताबद्ध भएर लागौँ र कांग्रेसलाई फेरि पहिलो र भरोसा योग्य शक्ति बनाऔँ भन्न चाहन्छ । धन्यवाद ।

