काठमाडौँ, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनिता चौधरीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आत्मनिर्भर बनाउदै कृषिबाट नै प्रदेशलाई समृद्ध बनाइने बताउनुभएको छ । बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहाकरी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारले विकास निर्माणको कार्यमा फड्को मार्न थालेको दाबी गर्नुभयो ।
मन्त्री चौधरीले बाजुराको कृषि क्षेत्र र विकासका लागि प्रदेश सरकार सधैँ तयार रहेको जिकिर गर्नुभयो । मानव विकास सूचकाङ्कमा पछि परेकाले जिल्लालाई विशेष प्राथमिकतामा राखेर कृषि, स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । राज्यको ध्यान नपुगेकाले बाजुरा पछाडि परेको मन्त्री चौधरीको भनाइ थियो । परम्परागत कृषिलाई परिवर्तन गर्दै आधुनिक कृषि क्षेत्रको प्रवद्र्धन गर्नमा प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो ।
बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले आलुको उत्पादनमा आत्मनिर्भर बनाउने गरी योजना ल्याइने बताउनुभयो । नगरपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न कार्यक्रमसहित बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले प्राङ्गारिक भेलेज छ जिल्लामा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । पर्यटकीय गन्तव्य कालाजग्रा फेदीमा रहेको ढम्कनेमा ‘आलुको उत्पादन, प्रशोधन र बजारीकरण हाम्रो अभियान, ढम्कनेको स्थानीय आर्गानिक आलु बाजुराको पहिचान’ नाराका साथ महोत्सव शुरु भएको हो । महोत्सवमा आलुका विभिन्न परिकारका ३० कक्ष छन् । ढम्कनेमा हरेक वर्ष रु एक करोडभन्दा बढीको आलु उत्पादन तथा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।
