पुष्पराज गिरी/
नेपाली कांग्रेसको भृकुटी मण्डपमा जारी दोस्रो महाधिवेशनले नेपाली राजनीतिमा एक किसिमको नयाँ तरङ्ग पैदा गरेको छ । यस महाधिवेशनलाई केवल एउटा पार्टीको आन्तरिक भेलाका रूपमा मात्र नभई, नेपालको लोकतान्त्रिक भविष्य र राजनीतिक दिशा निर्देश गर्ने एउटा महत्वपूर्ण मोडका रूपमा हेर्न सकिन्छ । विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका सांगठनिक र राजनीतिक प्रतिवेदनहरूले पार्टीभित्र मात्र होइन, आम नागरिकमा पनि एउटा आशा जगाएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको पर्यायवाची बनेको नेपाली कांग्रेस यतिबेला इतिहास र भविष्यको दोसाँधमा उभिएको छ । भृकुटी मण्डपको खचाखच भरिएको प्राङ्गणमा देखिएको उत्साह केवल एउटा राजनीतिक दलको भेला मात्र थिएन, त्यो त बदलिँदो नेपाली समाजको ऐना र राजनीतिक रूपान्तरणको तीव्र हुटहुटी थियो । दशकौँदेखि ुइतिहासको ब्याजु खाएर ओइलाउँदै गरेको बुढो रुखमा यसपटक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका एजेण्डाहरूले नयाँ पालुवा थप्ने जमर्को गरेका छन् ।
आजको नेपाली राजनीति नीतिगत शून्यता, चरम निराशा र पपुलिज्मको चंगुलमा फसेको बेला कांग्रेस महाधिवेशनले अघि सारेका पुस्तान्तरण र रूपान्तरणुका बहसहरू केवल पार्टीको आन्तरिक मामिला मात्र रहेनन् । यो त समग्र देशको बिग्रिएको प्रणाली सुधार्ने एउटा साहसिक शल्यक्रियाको प्रस्ताव हो । गगनको साङ्गठनिक शुद्धीकरणु र विश्वप्रकाशको आशावादी राजनीतिको फ्युजनले एकातिर कांग्रेसभित्रको गुटगत जडतालाई चुनौती दिएको छ भने अर्कोतिर नेपाली जनतामा अब केही बदलिन्छ भन्ने मधुरो तर भरोसायोग्य प्रकाश छर्न सकेको छ ।
एजेण्डामा स्पष्टताः गगन र विश्वप्रकाशको नयाँ बाटो
महाधिवेशनमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव र विश्वप्रकाश शर्माले अघि सारेको राजनीतिक प्रतिवेदनले कांग्रेसलाई परम्परागत ढर्राबाट बाहिर निकाल्ने प्रयास गरेका छन् । गगन थापाले निर्वाचन पूर्वको गठबन्धन नगर्ने प्रस्ताव ल्याउनुभयो, त्यसले कांग्रेसको आफ्नै अस्तित्व र पहिचानलाई पुनः स्थापित गर्ने जग बसालेको सक्छ । यसले कार्यकर्तामा हामी आफ्नै बलमा चुनाव लड्न सक्छौ भन्ने आत्मविश्वास भरेको छ । राजनीतिमा एकै व्यक्ति सधैँ पदमा रहिरहने प्रवृत्तिको अन्त्यका लागि ल्याइएका प्रस्तावहरूले राजनीतिलाई सेवाको माध्यम बनाउन प्रेरित गरेका छन् । विश्वप्रकाश शर्माले बदलिँदो वैश्विक परिवेश र नेपालको आन्तरिक चुनौतीलाई चिर्दै निराशा चिर्ने र भरोसा जगाउने जुन मार्गचित्र प्रस्तुत गर्नुभयो, त्यसले युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गर्न सक्छ ।
पुस्तान्तरणः नाराबाट व्यवहारतर्फ
नेपाली राजनीतिमा लामो समयदेखि ‘पुस्तान्तरण’ को नारा घन्किरहेको थियो, तर यो महाधिवेशनले यसलाई व्यवहारमा उतार्ने संकेत गरेको छ । महाधिवेशनमा देखिएको उत्साह र सहभागीहरूको बनोट हेर्दा अबको कांग्रेस विचार र उमेर दुवै दृष्टिले युवामैत्री बन्दै गएको देखिन्छ । पुराना नेताहरूले त्याग र इतिहासको कुरा गरिरहँदा युवा नेतृत्वले प्रविधि, सुशासन र डेलिभरीको कुरा गरिरहेका छन् । यो वैचारिक पुस्तान्तरण नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार हो ।
रूपान्तरणः संरचनात्मक र वैचारिक परिवर्तन
कांग्रेसले आफूलाई केवल सत्ताको भ¥याङ् बनाउने आरोप खेपिरहेको बेला, यो महाधिवेशनले नीतिगत रूपान्तरणको बाटो रोजेको देखिन्छ । महाधिवेशनमा भ्रष्टाचारका मुद्दामा मुछिएकाहरूलाई पार्टीले संरक्षण नगर्ने र सुशासनलाई मूल मन्त्र बनाउने विषयमा जुन सहमति देखियो, त्यो नेपाली राजनीतिकै लागि एउटा सकारात्मक फड्को हो । यसले कांग्रेसले अबका दिनमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्ने दृढता देखाउन सक्नु पर्दछ । महाधिवेशनमा आन्तरिक लोकतन्त्रको सुदृढीकरणका एजेण्डाहरु पनि बलियो ढंगबाट उठेका छन् । पार्टीभित्रका विभिन्न गुट–उपगुटहरूका बीचमा पनि नीति र सिद्धान्तमा छलफल हुनुले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र अझै जीवितै छ भन्ने दोस्रो विशेष महाधिवेशनले प्रमाणित गरेर देखाएको छ ।
नेपालको राजनीतिक परिवर्तनमा महाधिवेशनको भूमिका
नेपाली कांग्रेसले लिने बाटोले सधैं राष्ट्रिय राजनीतिको दिशा तय गर्दछ । यो महाधिवेशनले समग्र देशको राजनीतिक अवस्थामा उल्लेखनीय प्रभाव पार्ने देखिएको छ ।
लोकतान्त्रिक स्थिरताः कांग्रेसले आफूलाई सुधार गर्दा त्यसको प्रत्यक्ष असर अन्य राजनीतिक दलहरूलाई पनि पर्छ । यसले राजनीतिमा नीतिको प्रतिस्पर्धाको शुभारम्भ गर्नेछ ।
उग्रवादको विकल्पः पछिल्लो समयमा नेपालको राजनीतिक वृत्तमा देखिएको उग्र–नारा र पपुलिजमलाई चिर्न कांग्रेसको यो नीतिगत स्पष्टताले मध्यमार्गी र जिम्मेवार राजनीतिको महत्त्वलाई झल्काएको छ ।
विकास र सुशासनको मार्गचित्रः महाधिवेशनले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जुन खाका कोरेको छ, त्यसले आगामी निर्वाचनमा जनताका वास्तविक समस्याहरूलाई राजनीतिको केन्द्रमा ल्याउने निश्चित् देखिन्छ ।
अन्त्यमा
भृकुटी मण्डपमा जारी रहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन केवल मानिसहरूको भेला मात्र थिएन, यो नेपाली कांग्रेसको पुनर्जागरणको प्रयास पनि थियो । गगन र विश्वप्रकाशले देखाएको सपनालाई पार्टीको माथिल्लो नेतृत्वले कति आत्मसात् गर्छ भन्ने कुराले कांग्रेसको मात्र होइन, नेपालकै भविष्य निर्धारण गर्नेछ । यदि यी एजेन्डाहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गरियो भने, यसले नेपालको राजनीतिमा दशकौँदेखि रहेको जडतालाई तोड्नेछ । रूपान्तरण र पुस्तान्तरणको यो लहरले केवल कांग्रेसलाई मात्र होइन, समग्र देशलाई नै समृद्धिको नयाँ दिशामा लैजाने अपेक्षा गर्न सकिन्छ ।

