कोरियामा ‘राप्ती सांस्कृतिक सांझ तथा रात्री भोज २०२६’ हुँदै

कोरियाअपडेट

रवि पराजुली
सियोल,दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गरी राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रीको पावन अवसरमा ‘राप्ती सांस्कृतिक सांझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।
प्रवासी भूमिमा रहँदै मातृभूमिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नुका साथै नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष किशन वलीले जानकारी दिनुभएको छ ।
अध्यक्ष वलीका अनुसार कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम तथा मादल, बाँसुरीलगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिनेछ। साथै, मध्यरात १२ बजेसम्म १५ प्रकारका परिकार निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ। साथै आयोजकले कार्यक्रममा प्रवेश शुल्क बापत् १ जनाको साठ्ठी हजार कोरियन वन लिईने जनाएको छ ।
उक्त कार्यक्रम २०२६ फेब्रुअरी १५ तारिख आइतबार, बेलुकी ६:३० बजे देखि 서울시 종로구 종로 63-8 (2층 파노라마) मा हुने तय गरिएको छ।
राप्ती समाज दक्षिण कोरियाका महासचिव अर्जुन केसीले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ ।