कामदार दैनिक
रामेछाप ।
नेपाली काँग्रेसकी नेतृ बिनिता खड्का पार्टीको केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित भएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा पौष २७ गतेदेखि सञ्चालन भएको पार्टीको विशेष महाधिवेशनबाट खड्का केन्द्रीय सदस्यमा चयन भएकी हुन् ।
रामेछापबाट सक्रिय राजनीतिमा रहेकी खड्काले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । विद्यार्थी राजनीतिमार्फत पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएकी उनले १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनबाट महासमिति सदस्यको जिम्मेवारी सम्हालेकी थिइन् ।
पार्टी संगठन विस्तार, महिला सहभागिता र युवाको भूमिकालाई प्राथमिकतामा राख्दै सक्रिय राजनीतिमा रहेकी खड्काको केन्द्रीय समितिमा चयनलाई रामेछाप काँग्रेसका नेताहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको केन्द्रीय तहमा रामेछापको प्रतिनिधित्व थप सुदृढ भएको काँग्रेस कार्यकर्ताहरूको भनाइ छ । खड्काको केन्द्रीय सदस्यमा सर्वसम्मत चयनले जिल्लामा काँग्रेसको संगठन मजबुत बनाउँदै थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

