कोरियामा विमान यात्रुका लागि नयाँ नियम, ब्याट्री–हीटेड ग्याजेट लैजान नपाइने

कोरियाअपडेट

सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाले विमानभित्र हुने सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै लिथियम–आयन ब्याट्रीबाट चल्ने ब्याट्री–हीटेड ग्याजेटहरूमा कडा प्रतिबन्ध लगाएको छ। नयाँ व्यवस्थाअनुसार कर्डलेस हेयर स्ट्रेटनर, कर्लरलगायत अधिकांश वायरलेस सौन्दर्य उपकरणहरू अब ह्यान्ड क्यारी र चेक–इन दुबै लगेजमा लैजान निषेध गरिएको छ।

हालै इन्चन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको एक घटनाले यो विषय पुनः चर्चामा आएको छ। अष्ट्रेलियाली यात्रु एली ट्रान सिड्नी फर्किने क्रममा करिब ५ लाख वोन (झन्डै ३९९ अमेरिकी डलर) मूल्य पर्ने आफ्नो वायरलेस हेयर स्ट्रेटनर त्याग्न बाध्य भइन्।
ब्रिटिस सञ्चारमाध्यम डेली मेल लाई दिएको अन्तर्वार्तामा ट्रानले उक्त उपकरण आफूले यसअघि धेरै पटक कुनै समस्या बिना यात्रा गर्दा प्रयोग गरिसकेको र कोरिया प्रवेश गर्दा समेत सोही उपकरण साथमा ल्याएको बताइन्। तर, प्रस्थानको क्रममा भने सुरक्षा अधिकारीहरूले बिल्ट–इन, निकाल्न नमिल्ने लिथियम–आयन ब्याट्री भएको कारण आगलागीको जोखिम देखाउँदै उपकरण फाल्न निर्देशन दिएका थिए।
विमानन सुरक्षा अधिकारीहरूका अनुसार पछिल्लो समय उडानका क्रममा ब्याट्री विस्फोट तथा आगलागीका घटनाहरू बढ्दै गएकाले यात्रु तथा विमानको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कडाइ गरिएको हो।