काठमाडौं, २२ कार्तिक । पत्रकार महिलाका लागि निर्वाचन र आमसञ्चार विषयक कार्यशाला यहाँ आजदेखि शुरु भएको छ । युएनडिपी, संयुक्त राष्ट्रसङ्घ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को, निर्वाचन आयोगको सहयोगमा सञ्चारिका समूह नेपालले आयोजना गरेकोे कार्यशालामा प्रदेश नं ५ मा कार्यरत २७ पत्रकार महिलाको सहभागिता छ ।
तालीमको शुभारम्भ गर्दै सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकारले कुनै एक विषयमा समाचार सङ्कलन गरेर मात्र नपुग्ने भएकाले सबै विषयमा जानकार हुनु आवश्यक रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्याप्रसाद भण्डारीले निर्वाचन प्रक्रिया र प्रणालीबारे पत्रकार सचेत भएमात्रै जनतामा सही सूचना जाने बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारितालाई जनतामाझ विश्वासिलो बनाउन निर्वाचन सम्बन्धमा गरिने सबै सामग्री तथ्यपरक हुनुपर्ने भएकाले महिला पत्रकारका लागि कार्यशाला आयोजना गरिएको जानकारी गराउनुभयो । मणिग्राममा आयोजित तीनदिने कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया नीति, निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन, सामाजिक सञ्जाल र महिला पत्रकारको सुरक्षा अवस्थालगायतका विषयमा विज्ञले प्रशिक्षण दिनुहुने सञ्चारिका समूहका महासचिव विमला तुम्खेवाले जानकारी दिनुभयो ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्वअध्यक्ष बस्नेत, सञ्चारिका समूहका अध्यक्ष पण्डित, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख भण्डारीले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यशालाको अन्तिम दिन प्रदेश नं ५ का महिला राजनीतिज्ञसँग अन्तक्र्रिया कार्यक्रम राखिएको सञ्चारिका समूहका कार्यक्रम संयोजक रुपा बस्नेतले जानकारी दिनुभयो ।
