महोत्तरी, ५ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैले प्रभावकारी रूपमा पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । महोत्तरीका चारवटै प्रतिनिधिसभा क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयद्वारा आज संयुक्त रूपमा आयोजित सर्वपक्षीय बैठकमा सहभागीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।
“जिल्लाका चारवटै क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचनसम्बद्ध अधिकारी सम्मिलित सर्वपक्षीय बैठक सम्पन्न भएको छ”, जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद कोइरालाले भन्नुभयो, “सबै पक्षबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।”
चारवटै क्षेत्रमा मङ्गलबार हुने उम्मेदवारको मनोनयनपत्र दाखिला गर्न दलका लागि समय छुट्याइएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो । मनोनयनपत्र दर्ताका बेला भड्किला प्रचारप्रसारका सामग्री प्रयोग नगर्न, बाजागाजा नबजाउन, आआफ्नो पालोअनुसार मङ्गलबार बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मनोनयन दाखिला गर्न सर्वपक्षीय सहमति भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो । “मनोनयनपत्र दाखिलासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको छ”, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले भन्नुभयो, “चारवटै निर्वाचन क्षेत्रमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा खटिएको जनशक्ति पुगेको छ, सबै काम पूर्वनिर्धारित तालिकाअनुसार अघि बढ्नेछ ।”
मनोनयनपत्र दाखिला र त्यसपछिको निर्वाचन अभियानभरिका लागि समुचित सुरक्षा प्रबन्धको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । स्थानीय प्रशासनले निर्वाचन आचारसंहिताको पालना र सुरक्षा प्रबन्धको पक्षलाई महत्वका साथ अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।
कुनै व्यक्ति, उम्मेदवार, दलविशेष वा निर्वाचनसम्बद्ध खटिएका जनशक्ति सबैले आचारसंहिताको परिपालना गर्नुपर्नेमा प्रजिअ यादवले जोड दिनुभयो । यसमा जुनसुकै पक्षबाट हुने उल्लङ्घन कारबाहीको भागिदारी हुने उहाँले स्पष्ट पार्नुभयो । मनोनयनपत्र दाखिला गरिने कार्यक्रमलाई उच्च सुरक्षा प्रबन्ध गरिएको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँमा थप जनशक्ति आवश्यक देखिनासाथ परिचालन गरिने जानकारी दिनुभयो ।
—

