नदी तथा जलाशयमा भक्तजनको भीड

राजनीति

काठमाडौं, २२ कार्तिक । हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो ।

आजको दिन नदी तथा जलाशयमा गई स्नान गरी भगवान् विष्णुको आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । सोही विश्वासका कारण सेती नदी किनारका चिरगादी घाट, रामघाट, नारायणस्थान, लामगादी, दुलैगौंडा पुलचोक लगायतका स्थानमा भक्तजनको भीड लाग्ने गरेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

धार्मिक धर्मग्रन्थहरूमा हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशीका रूपमा लिइएको उहाँले बताउनुभयो ।

आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन् ।

आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । आजैका दिन बहुउपयोगी वनस्पति तुलसीको विवाह गर्ने प्रचलन छ । रामघाट, लागादी लगायतका स्थानमा आज एकादशी मेला लाग्ने भएकाले ती स्थानमा सुन्तला, बदाम, सक्खरखण्डका साथै चोयाका समान बिक्री हुने गरेको छ ।

सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य, कृषि र पशु बिमा
काठमाडौं, २२ कार्तिक । काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।

बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ । नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ ।

सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।