राष्ट्रिय सुरक्षासँग सम्बन्धित दायित्वलाई साझा जिम्मेवारीका रूपमा बुझ्न गृहमन्त्री अर्यालको आग्रह

प्रशासन मुख्य समाचार राजनीति

काठमाडौँ, ९ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित विशिष्ट सुरक्षा फौजका रूपमा विकास गरिने बताउनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय अभ्यास र मापदण्डअनुरुप नयाँ बिओपीको विस्तार, आधुनिकीकरण तथा सम्पूर्ण सङ्गठनलाई प्रविधिमा आधारित लचिलो र द्रूत परिचालन योग्य बनाउने सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सम्पूर्ण दायित्वलाई साझा जिम्मेवारीका रूपमा बुझ्न आग्रह गर्नुभयो । “नजिकिँदै गएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई पनि साझा उत्तरदायित्वका रूपमा बोध गरी समन्वयात्मकरूपमा गरिएको छ”, उहाँले भन्नुभयो ।

बदलिँदो विश्व परिवेश र जटिल बन्दै गएका सुरक्षा चुनौतीका सन्दर्भमा थप चनाखो बन्नु अपरिहार्य रहेको जनाउँदै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षाका सम्बन्धमा गृह मन्त्रालयका नीति, निर्देशन र मार्गदर्शनअनुरुप परिचालित हुन निर्देशित गर्नुभयो ।

मानवअधिकारको सम्मान, लैङ्गिक समानता र जनमैत्री कार्यशैली आजको सुरक्षा प्रणालीको आधारभूत मान्यता भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले अनुचित दबाब र प्रभावबाट सुरक्षा निकायलाई मुक्त राखी व्यावसायिक स्वतन्त्रता र क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “सुशासन कायम गर्न कानुनको कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने जोखिमप्रति भयवित नबनी निष्पक्ष रूपमा कर्तव्य पालना गर्न आग्रह गर्दछु । असल नियतले गरिएको कार्यको जिम्मेवारी राज्यले वहन गर्नेछ”, गृहमन्त्रीले भन्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमानाको सुरक्षा, अवैध चोरी निकासी नियन्त्रण, मानव बेचबिखन, लागुऔषधको ओसारपसार तथा सीमापार अपराध नियन्त्रणलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । अभाव र सीमितताबीच सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको जनाउँदै उहाँले आसन्न निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकयासँग समन्वयात्मक ढङ्गबाट परिचलित हुने विश्वास दिलाउनुभयो ।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले प्रशासनिक कार्य तथा सीमा सुरक्षाका सम्बन्धमा उत्कृष्टकार्य गरेबापत रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्दबासिनी बाहिनी मुख्यालयलाई ‘२०८२ सालको उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले ‘सशस्त्र प्रहरी बल नेपालको इतिहास’ पुस्तक लोकार्पण गर्नुभयो । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘सशस्त्र प्रहरीको रजत जयन्ती विशेषाङ्क’ लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा प्रधामन्त्री सुशीला कार्कीले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार भट्टचनलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी बलका तर्फबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

समारोह अघि राष्ट्रपति पौडेलले अमर सशस्त्र प्रहरीको स्मृतिमा निर्मित स्मृति बाटिकामा पुष्पमाला अर्पण तथा रजत जयन्ती स्तम्भ तथा उद्यानको उद्घाटन गर्नुभएको थियो । त्यसअवसरमा राष्ट्रपति पौडेललाई सशस्त्र प्रहरीको टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।