NCC दक्षिण कोरियाको अधिवेशन मार्च १५ मा, निर्वाचन संयोजक लोचन चाम्लिङ राई

कोरियाअपडेट

रवि पराजुली

सौल/ दक्षिण कोरिया ।

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको बैठक मिति २०२६ जनवरी २४ मा सम्पन्न भएको छ। बैठकले आगामी अधिवेशन मिति तय गर्नुका साथै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

दोङ्देमुनस्थित निक नेपाल ट्राभलको हलमा सम्पन्न बैठकले NCC को अधिवेशन २०२६ मार्च १५ मा आयोजना गर्ने निर्णय गरेको हो। अधिवेशनसँगै हुने नयाँ नेतृत्व चयनका लागि संयोजक लोचन चाम्लिङ राई सहित ५ जनाको निर्वाचन मण्डल गठन गरिएको छ ।

बैठकले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधान अनुसार सम्पन्न गराउने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। यसैगरी, केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधि छनोट प्रक्रिया २०२६ मार्च १ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।

अधिवेशनअघि नै सदस्यता कार्ड वितरण र अभिलेख अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ। संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै कोरियामा रहेका नेपाली समुदायको हक–हितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको छ।

बैठक अध्यक्ष हरी प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकमा NCC कोरियाका संरक्षक , सल्लाहकार, विभागीय प्रमुख, प्रदेश अध्यक्ष, विधान समितिका संयोजक तथा सदस्यहरू र कार्यसमितिहरूको समेत उपस्थिति रहेको थियो।