मुलुकलाई राजनीतिक सङ्कटबाट जोगाउन सबै राजनीतिक दल संवेदनशील हुनुपर्छः संयोजक दाहाल

मुख्य समाचार राजनीति

काठमाडौँ, १७ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिर तथा जोखिमपूर्ण अवस्थाबाट जोगाउन सबै राजनीतिक दल संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आसन्न निर्वाचन विशेष परिस्थितिबाट उत्पन्न राजनीतिक अभ्यासका रूपमा लिनुपर्ने र त्यसले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको समाधान गर्ने बताउनुभयो । देशको असाधारण परिस्थितिमा आकस्मिक रूपमा घोषणा गरिएको निर्वाचन सामान्य अवस्थाको प्रक्रिया नभएको उल्लेख गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रभावका साथै विभिन्न प्रतिक्रियावादीको षड्यन्त्र परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

संयोजक दाहालले मुलुकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विभिन्न कम्युनिष्ट समूह तथा समाजवादी विचारधारालाई एकताबद्व गरी शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणतर्फ आफू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।