प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरलाई

खेलकुद समाचार

दोधारा चाँदनी (कञ्चनपुर), २४ माघ: सुदूरपश्चिम प्रदेशस्तरीय प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ ।

आज धनगढीस्थित फाप्ला खेलमैदानमा भएको फाइनलमा बैतडीलाई नौ रनले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार टस जितेर ब्याटिङ गरेको कञ्चनपुरले २४.२ बलमा अलआउट हुँदै १३५ रन बनाएको थियो ।

कञ्चनपुरका लागि आर्यन टमटा र किरण चन्दले १९–१९ रन बनाए । बलिङमा बैतडीका सचिन भट्ट र हिक्मत महराले समान दुई–दुई विकेट लिए । कुल १३६ रनको लक्ष्य पछ्याएको बैतडीले २५ ओभरमा आठ विकेट गुमाएर १२६ रनमात्र जोड्न सक्यो ।

बैतडीका लागि सुनिल चन्दले ४२ रन र आयुश चन्दले २३ रनको योगदान गरे । बलिङमा कञ्चनपुरका विकास आग्री र अरुण ऐरले समान दुई–दुई विकेट हात पारे । प्रतियोगितामा प्लेयर अफ दी म्याच विकास आग्री घोषित भए । प्लेयर अफ दी सिरिजर र बेष्ट ब्याटर किरनकुमार ठगुन्ना घोषित भए । प्रतियोगितामा सुदूरपश्चिमका आठ टिमको सहभागिता थियो । उपाधि विजेता टिम कञ्चनपुरले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।