सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, २४ माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा बढीलाई दादुरा विरुद्धको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले मङ्गलवा–२, ३, ४, ८, ९ र १० मा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको बताउनुभयो ।

उहाँका अनुसार उक्त ठाउँमा करिब १० हजार ३२ जनालाई दादुरा विरुद्धको खोप लगाइको छ । दादुरा फैलिएको ठाउँमा सात हजार ५१९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । “हाम्रो अनुमानभन्दा धेरै बालबालिका ती वडामा थिए”, उहाँले भन्नुभयो, “त्यही भएर हाम्रो लक्ष्यभन्दा दुई हजार ४५२ जना बढी बालबालिकालाई खोप लगायौँ ।”

दादुराको सङ्क्रमण फैलिएको ती वडामा छ महिनादेखि १५ वर्षमुनिका सबैलाई दादुरा विरुद्धको खोप लगाइएको छ । अहिलेसम्म उक्त ठाउँमा सात जना दादुराका बिरामी भएको पुुष्टि भएको छ । “सात जनामा मात्र दादुरा देखिए पनि फैलन सक्ने जोखिम भएकाले प्रभावित वडासँग जोडिएका वडामा पनि खोप लगाएका हौँ”, उहाँले भन्नुभयो । गत पुस २५ गते मलङ्गवा नगरपालिक–३ र ४ मा दादुरा महामारी फैलिएको थियो ।