मतदाताले मलाई आर्शिवाद र स्वागत गरिरहेको अवस्था छ डम्बर : बहादुर सुवेदी

विचार/अन्तर्वार्ता
डम्बर बहादुर सुवेदी प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, म्याग्दी

डम्बर बहादुर सुवेदी म्याग्दी जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आउनु भएका चिरपरिचित नाम हो । यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उहाँलाई प्रतिनिधिसभा निर्वाचनमा (प्रत्यक्षतर्फ)मा म्याग्दी जिल्लामा उम्मेदवार बनाएको छ । सानै देखि राप्रपाको विधार्थी सङ्गठनमा आवद्ध रहनु भएका सेवदी २०५८ सालमा राष्ट्रिय प्रजातान्त्रिक विधार्थी सङ्गठनको म्याग्दी जिल्ला कार्यसमितिको तदर्थ अध्यक्ष, २०५९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन म्यादी जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष हुनु भयो । राजनीतिको यात्राको क्रममा उहाँ २०६४ मा राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको म्याग्दी जिल्ला कार्यसमितिको अध्यक्ष हुनुभयो । यस्तै उहाँ राप्रपा म्याग्दी जिल्ला कार्यसमितिको उपाध्यक्ष हुनुभयो । लायन्स, सामुदायिक वन लगायत विभिन्न संघ संस्थामा कार्य गरेको उहाँ सँग अनुभव छ । यस क्रममा उहाँ केही समय जिल्ला अगुवा आइपिएम कृषक प्रशिक्षक हुनुभयो । देश विकासको लागि आफै अग्रसर हुनुपर्छ भन्ने भिजन हुनुभएका सुवेदी स्पष्टवक्ताका साथै मिलनसार र जुझारु स्वभावका हुनुहुन्छ । राप्रपाबाट यसरी निर्वाचनमा उठ्न पाउँदा उत्साहित र हर्षित हुनुभएका राप्रपाका युवा नेता सुवेदीलाई मतदाताहरुले आर्शिवाद र स्वागत गरिरहेको अवस्था छ । प्रस्तुत छ राप्रपा उम्मेदवार डम्बरबहादुर सुवेदीसँग गरिएको कुराकानी :

तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा म्याग्दी जिल्लाबाट उम्मेदवार बन्नुभएको छ, कस्तो लागिरहेको छ ?

देशको बेग्लै धारको नेतृत्व गरिरहेको बेग्लै परिचय बोकेको पार्टी राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदमा म्याग्दी जिल्लाबाट उम्मेदवार बन्न पाउदा म गौरवाङ्गित हर्षित र उत्साहित भएको छु । संवैधानिक राजसंस्था र हिन्दु राज्यको पक्षमा राप्रपा अनवरत रुपमा लागि रहेको छ, संघर्ष गरिरहेको छ । म यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो भयो, यस पटक यो राप्रपाले जित्ने क्षेत्रका रुपमा स्थानीय बासिन्दाले मुल्याङ्कन गर्नु भएको छ । यस क्षेत्रमा मेरो बेग्लै परिचय पनि छ । विद्यार्थी राजनीति पनि यहि गरे, समाजसेवा पनि यहि गरे, व्यवसाय पनि यहि गर्दै छु । अब चुनाव पनि यहिबाट उठेको छु । आगामी दिनमा पनि यहिका जनताको सेवा गर्ने छु । मलाई स्थानीय जनताले तपाई हाम्रो तर्फबाट यस पटक चुनाव उठिदिनु प¥यो, जित्नु प¥यो भनेको कुरा समस्त सबैलाई स्मरण गराउन चाहान्छु । म राप्रपामा भए पनि सबै जनतालाई समान व्यवहार गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले मैले यहाँ जित्ने आधार रहेको छ । म जिते पछि पनि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्ने छु ।

यस क्षेत्रका राप्रपाको सङ्गठन कस्तो छ ?

राप्रपा आफैमा विशाल सङ्गठन भएको पार्टी हो । जिल्ला देखि वडा तहसम्मै हाम्रो सङ्गठन छ । राप्रपालाई होच्चाउनलाई यस जिल्लामा राप्रपाको सङ्गठन खस्केको भन्ने होलान । तर राप्रपाको एजेण्डामा, राप्रपा पार्टीमा मत सत प्रतिशत बढ्दै गएको छ । जनताले यस पटक डम्बर बहादुर सुवेदीलाई जिताउछु भनिरहेका अवस्था छ । म्याग्दीमा मात्र हैन यस पटक देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं ।

जनताले राप्रपालाई नै किन जिताउने ?
राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले जित्नै पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढ्दै छ । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै हुन । यस पटकको निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौ । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । निर्वाचनलाई पनि हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनको रुपमा लिइरहेका छौ । संसदबाटै हिन्दु राज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलो प्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला नि ?
अवस्य आउछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका हौं । हाम्रो पहिलो भरोसा हिन्दु नै हुन् । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ । यहि बेला हिन्दुधर्म मान्ने र राजसंस्था मान्नले शक्ति प्रदर्शन गर्नु पर्छ ।

अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । राजावादीलाई रोजिदिनु होला । म्याग्दी जिल्लामा पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछु भन्ने विश्वास लिएको छु । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौका छ, अवसर छ, राप्रपालाई जिताउनु होला ।