आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा

मुख्य समाचार राजनीति समाचार

मोरङ, २६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ ।

कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले कुशासन अन्त्य, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन भएको समुन्नत नेपाल निर्माण, सबैसँग समान व्यवहार, युवालाई अवसर प्राप्त हुने भरोसा दिलाउने गरेर जनतामाझ जान आग्रह गर्नुभयो ।

“हामीले बदलिएको कांग्रेसमार्फत कुशासनको अन्त्य गर्दै विधिको शासन स्थापित गर्ने स्पष्ट योजना बनाएका छौँ । नागरिक र विशेष गरी युवा पुस्ताको भावनाअनुसार अगाडि बढ्छौँ”, सभापति थापाले भन्नुभयो,“ त्यसका लागि जवाफदेही शासन, राज्यका निकायलाई थप प्रभावकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत, महान्यायधिवक्ताको कार्यालयमा सुधार गरी नागरिकलाई सहज सेवा प्रदान गर्ने अवस्था बनाउँछौँ ।”

कांग्रेसले देशलाई अर्को द्वन्द्वमा पर्न नदिने गरी हालको अवस्थालाई सम्हाल्दै र सुधारको जग बसाल्ने भन्दै उहाँले दलित, मुस्लिम, अल्पसङ्ख्यक, मधेसी, महिलाका हक अधिकार सुनिश्चित र धर्म, संस्कृतिको संरक्षण गर्ने बताउनुभयो ।

महामन्त्री गुरुराज घिमिरेले पार्टी पुनर्गठनपश्चात् सबै एकताबद्ध भएर चुनावमा होमिएको र अब परिणामका लागि विवाद ढङ्गले अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको नेतृत्व बदलिएको छ । योसँग देशका समस्या, जेनजी आन्दोलनका मुद्दाप्रतिको स्पष्ट बुझाइसहित अगाडि बढेका छौँ । अब देश बदल्ने छौँ । नेपालीलाई सम्मानित र आत्मनिर्भर बनाउन केन्द्रित हुनेछौँ ।”

नेता डा शेखर कोइरालाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै पार्टीले सम्पूर्ण नेपाली जनताको सुखद भविष्य निर्माणका इमान्दार प्रयत्न गर्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका मुख्य एजेण्डा सुशासन, भ्रष्टचारको अन्त्य र समृद्धि कायम गर्न पार्टीले सबैलाई साथमा लिएर काम गर्न बताउनुभयो ।

पार्टी सहमहामन्त्री डा डिला संग्रौला, कोशी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रतिनिधिसभा निर्वाच क्षेत्रमा उम्मेदवार रहनुभएका सरिता प्रसाई, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, विजयकुमार गच्छदारलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।