नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ यतिबेला मकवानपुर क्षेत्र नम्बर १ को चुनावी मैदानमा हुनुहुन्छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको पुस्तान्तरणको लहर र पछिल्लो समय विकसित कांग्रेस भित्रको पुस्तान्तरण र रूपान्तरणको बहसलाई व्यवहारमा उतार्न दृढ संकल्पित उहाँ, ‘जेन–जी’ युवाहरूको परिवर्तनको चाहनालाई आत्मसात गर्दै विकासको नयाँ मोडलसहित जनताको घरदैलोमा हुनुहुन्छ । प्रस्तुत छ, मकवानपुरको विकास, कांग्रेसको आगामी योजना र उहाँको उम्मेदवारीका विषयमा केन्द्रित रहेर पुष्पराज गिरीसँग गरिएको कुराकानीको मुख्य अंश :
मकवानपुर क्षेत्र नं. १ बाट तपाईंको उम्मेदवारीलाई आम जनताले कसरी हेरेको पाउनु भयो ?
मकवानपुरको चुनावी माहोल निकै उत्साहजनक छ । मलाई लाग्छ, यसपटक मकवानपुरका जनताले ‘निरन्तरता र निष्ठा’लाई रोज्ने मुड बनाउनु भएको पाएको छु । म यस क्षेत्रका लागि नयाँ अनुहार होइन । म हार्दा पनि र जित्दा पनि सधैं मकवानपुरकै जनताको सुख दुःखमा साथै रहें । म यो क्षेत्रका लागि चुनावमा मात्र आउने पाहुना उम्मेदवार होइन । यसपटकको उम्मेदवारी केवल संसद्मा पुग्नका लागि मात्र होइन, मकवानपुरको विकास र जनताको भावनालाई राष्ट्रिय नीतिमा जोड्नका लागि हो । जनतामा यसपटक एउटा फरक खालको उत्साह छ, किनकि उहाँहरूले मेरो निरन्तरको निष्ठालाई नजिकबाट देख्नुभएको छ ।
तपाईंले केहीदिन अघि एउटा कार्यक्रममा ‘मलाई सांसद बन्न धेरै विकल्प थिए’ भन्नुभयो, अलि प्रष्ट पारिदिनुस् न ।
हो, मलाई पार्टीले राष्ट्रिय सभा सदस्य बनेर नीति निर्माणमा जान प्रस्ताव गरेको थियो । तर, मलाई लाग्छ, एउटा राजनीतिकर्मीका लागि जनताको प्रत्यक्ष मत र विश्वासभन्दा ठूलो अरू केही हुँदैन । म सहज र जनमत नभएको बाटोबाट होइन, जनताको घरदैलोमा पुगेर, उहाँहरूको आशीर्वाद लिएर र अनुमोदन भएर मात्र संसद् छिर्न चाहन्छु । यसपटक चुनावमा मेरो अन्तिम र निर्णायक प्रतिस्पर्धा पनि हो । मलाई सांसद मात्रै बन्नका लागि धेरै विकल्पहरु थिए, तर म यो पटक कुनै हालतमा जनताबाट अनुमोदन भएर आउँछु भन्ने दृढ विश्वासका साथ मैदानमा उत्रिएकी छु ।
विशेष महाधिवेशनपछि कांग्रेसमा आएको परिवर्तन र नयाँ पुस्ता (जेन–जी) ले उठाएको आन्दोलनबाट बनेको परिस्थितिमा, पछिल्ला चुनावभन्दा यसपटक कस्ता भिन्नता र चुनौतीहरू देख्नुहुन्छ ?
आजको नेपाली कांग्रेस हिजोको परम्परागत विरासतमा मात्र सीमित छैनस विशेष महाधिवेशनले पार्टीमा जुन पुस्तान्तरण र रूपान्तरणको जग बसालेको छ, त्यसले देशभर एउटा नवीन ऊर्जा सञ्चार गरेको छ । विगतका निर्वाचनहरूको तुलनामा यसपटकको परिस्थिति भिन्न छ, किनकि अहिलेको नयाँ पुस्ता (जेन–जी) भावनाका साथै परिणाममुखी राजनीति र ठोस डेलिभरीमा विश्वास राख्छ । हामीले बदलिँदो समयको पदचापलाई बुझेका छौं । त्यसैले, यसपटक हामी केवल एजेन्डा मात्र होइन, ती एजेन्डा पूरा गर्ने स्पष्ट मार्गचित्र सहित जनतामाझ जाँदैछौं । हाम्रा नीति र कार्यशैलीमा युवाहरूका आधुनिक सपना, सूचना प्रविधिको प्रयोग र सुशासनप्रतिको तीव्र चाहनालाई प्राथमिकताका साथ समेटेका छौं । अहिले नयाँ पुस्ताको उच्च अपेक्षा हाम्रा लागि चुनौती र अवसर दुवै हुन् । तर, अनुभवी नेतृत्वको परिपक्वता र युवा नेतृत्वको गतिशीलताबीचको सन्तुलनले नै अहिलेको बदलिएको कांग्रेस बनेको हो । हामी दृढ छौँ कि, रूपान्तरित कांग्रेसले मात्र मुलुकको मुहार फेर्न सक्छ र यसमा अहिलेको सचेत पुस्ताको पूर्ण भरोसा रहनेछ ।
तपाईंले आफू पदमा नहुँदा पनि विकासमा सक्रिय रहेको दाबी गर्नुभयो, अबको ५ वर्षको लागि तपाईंका प्राथमिकताहरु के छन् ?
पदमा हुनु र नहुनुले मेरो सेवाको भावनालाई कहिल्यै रोकेन । म दिने ठाउँमा नपुग्दा पनि मकवानपुरका गौरवका आयोजना, सडक र खानेपानीका लागि केन्द्रमा लडिरहेँ । अबको ५ वर्ष मेरो प्राथमिकतामा हेटौंडाको औद्योगिक पुनर्जागरण गर्दै बन्द रहेका उद्योग सञ्चालन र नयाँ लगानीको वातावरण सिर्जना गर्न भूमिका खेल्नेछु । स्थानीय स्रोत र साधनको परिचालन गरी युवालाई उत्पादनमा जोड्दै स्वरोजगार बनाउने तथा पूर्वाधार र कृषि क्षेत्रको लागि ग्रामीण भेगका सडक स्तरोन्नति र किसानका लागि आधुनिक शीतभण्डारको व्यवस्था गर्ने लगायत कार्यक्रममा मुख्य रुपमा मेरो प्रथमिकता रहने छ ।
अन्त्यमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
मलाई एकपटक जितेर जनतासँगै ५ वर्ष काम गर्ने तीव्र इच्छा छ । मलाई यहाँका मतदाता, पार्टीका साथीहरू र नेतृत्वले जुन भरोसा गरेर पठाउनुभएको छ, त्यो म कहिल्यै टुट्न दिने छैन । यो पटक मकवानपुरसहित देशभर कांग्रेसले जितेर राजनीतिक स्थिरता दिनेछ । तपाईंका समस्याहरु मैले बुझेको छु र तिनको समाधानको साँचो पनि मसँगै छ । मलाई विश्वास गर्नुहोस, म तपाईको विश्वासमा खरो उत्रेर देखाउने छु ।

