कीर्तिपुर (काठमाडौँ), २८ माघः प्रधानमन्त्री कप पुरुष क्रिकेट, काठमाडौँको छनोट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आजसम्पन्न खेलमा सेन्टरले महावीर स्टडिज एन्ड एथलेटिक्सलाई १३८ रनले पराजित गरेको थियो ।
निर्धारित ५० ओभरको खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको सेन्टरले विरेन्देर धनाडी ६६, बुद्धिमान विष्ट ४४ को मद्दतले कुल २२९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको महावीरले प्रतिश जिसीको सर्वाधिक ४७ रनको मद्दतले २१ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । उसलाई सस्तैमा समेट्न सेन्टरका सोनु देवकोटाले चार विकेट लिनुभएको थियो ।
दश दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताबाट सेन्टरका रित गौतम ‘प्लेयर अफ टुर्नामेन्ट’ घोषित हुनुभएको छ । उहाँलाई क्रिकेट सामग्री वितरक संस्था हिमालयन विल्लोका तर्फबाट पूर्ण क्रिकेट सामग्री प्रदान गरेको थियो ।
सेन्टरका दयानन्द मण्डल फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो । प्रतियोगितामा बालुवाटार क्रिकेट क्लब धिरज देउवा इमरजिङ प्लेयर, सेन्टरका सन्दीप गौतम उत्कृष्ट ब्याटर र महावीर क्लबका सन्दीप पराजुली उत्कृष्ट बलर घोषित हुनुभयो ।
काठमाडौं जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर घलेका अनुसार अब फागुनको पहिलो साताबाट सुरु हुने प्रादेशिकस्तरको छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न बाटो खुलेको छ ।
प्रतियोगितामा विभिन्न क्लब र एकेडेमीसमेत गरेर १८ टोली सहभागी भएका थिए । प्रतियोगितामा समूह चरण र सुपर सिक्ससमेत गरी २५ खेल भएका थिए । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा खेल सञ्चालन भएका थिए ।

