अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भइरहेको छ

आर्थिक समाचार

सुर्खेत | २ असोज : कर्णाली प्रदेश सरकारले यहाँको विकास र समृद्धिका लागि लगानीकर्ता भित्र्याउन पहल भइरहेको बताएको छ । आज माउण्टेन एयरको हेलिकोप्टरमा चिनियाँ प्राविधिक टोली लिएर मुगुको रारा विमानस्थलको सम्भाव्यता अध्ययन गरी सुर्खेत पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमानस्थलमा पत्रकारसँग भन्नुभयो, “ पर्यटन, जलविद्युत्, सडक र विमानस्थल निर्माणामा अन्तर्राष्ट्रिय लगानी खाँचो छ ।” “पूर्वाधार विकास नै कर्णालीको मूल आवश्यकता हो,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल गरिरहेका छौँ ।” प्रदेश सरकारको विशेष आग्रहमा चीनको नर्थ वेस्ट एभिएसन कम्पनीसहित लगानीकर्ताको टोलीले सुर्खेतको न्याउलीचौर, मदानेचौर, वीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “सुर्खेतमा प्रादेशिकस्तरको र रारामा हिमाली भेकको हाईअल्टिच्यूड विमानस्थल निर्माणमा लगानीकर्ता सकारात्मक रहेका छन् ।” कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटेल तथा रिसोर्ट र विमानस्थल आवश्यकता औँल्याउँदै लगानीकर्ताको टोलीलाई सो क्षेत्रमा लगानी गर्न आफूले आग्रह गरेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

जलविद्युत् र पर्यटन विकासबाट कर्णालीको विकासलाई उचाइमा पुरयाउन सकिने भन्दै उहाँले आजै बाजुरा र कालीकोटको बीचमा रहेको तिला १ र २, फुकोट हाइड्रोपावरलगायतका क्षेत्रमा अध्ययन अवलोकन गरिएको जनाउनुभयो । चिनियाँ सरकारको स्वामित्व रहेको उक्त एभियसन कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण कार्य गरिरहेको जनाइएको छ ।

Facebook Comments Box