काठमाडौं २ मंसिर । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभयो ।
भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीयवासी नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द लम्सालको घरतर्फ लाग्नुभयो ।
बाटो लागिसकेको शवयात्रालाई रोकी मलामीलाई दुवै महिलालाई सती पठाउन नहुने भनी उहाँले सम्झाएपछि दुई जनाको जीवन बचेको षडानन्दका विषयमा अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा गोविन्दमानसिंह कार्की बताउनुहुन्छ । षडानन्दले आफ्नी आमा रुक्मिणीको निधन भई अरुण नदीको सतीघाटमा अन्तिम संस्कारका लागि गएका बेला अरुणपारि मृतक पतिसँगै पत्नीलाई जलाएको घटना सुन्नुभएको थियो । त्यहीबेलादेखि उहाँ यो अमानवीय प्रथाको अन्त्यका लागि दृढसङ्कल्पित हुनुभएको थियो ।
सुदूर पूर्व भोजपुरको दिङ्लाबाट बालागुरु षडानन्दले शुरु गर्नुभएको अभियानले विसं १९७७ मा साकार रूप लियो । तत्कालीन श्री ३ राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सतीप्रथा उन्मूलनको घोषणा गर्नुभयो । शिक्षासेवामा महत्वपूर्ण योगदान गर्नुभएका षडानन्दले सतीप्रथा उन्मूलनका लागि राणा सरकारलाई उत्प्रेरित गर्नुभएको थियो ।
विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाउनुभएको थियो । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो ।
त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चिजबिजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाउनुभयो । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।
त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवनयापनमा सजिलो भयो ।
षडानन्दले बगँैचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाउनुभयो । त्यस क्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उहाँले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गर्नुभयो । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ र यसले अर्थोपार्जनमा सहयोग गरेको छ । डेढ सय वर्षअघि देखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुख्र्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउनुहुन्छ ।
षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याउनुभएको थियो । उहाँको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सार्नुभएका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउनुहुन्छ ।
अष्ट्रेलियाली वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकामा उहाँको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ ।
रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चापागाईं षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताउनुहुन्छ ।
बालागुरु षडानन्दले शिक्षा र समाज सुधारका धेरै क्षेत्रमा पु¥याउनुभएको योगदानको अध्ययन गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले अध्ययन कक्षको स्थापना गर्ने प्रतिबद्धता कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्त गर्नुभयो ।
प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक गोष्ठीमा उहाँले विद्वानको समूह बनाई प्रज्ञा मातहतमै अध्ययन अनुसन्धान गराइने जानकारी दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न पनि थप अध्ययन–अनुसन्धानको आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्रमा विज्ञानलाई ‘फेल’ गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उहाँको भनाइ थियो ।
षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गर्नुभयो । गुठीअन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उहाँका विषयमा अन्वेषण गरिरहनुभएका यादव चापागाईं बताउनुहुन्छ ।
गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासी परशुराम कट्टेल बताउनुहुन्छ ।
मासिएको गुठी जग्गाको खोजीमा स्थानीय सरकार लागिपरेको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले सुनाउनुभयो । पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पनि पुनर्निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
गुठीको अध्यक्ष रहनुभएका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि विश्वविद्यालय स्थापना गर्न ढिलाइ गर्न नहुने माग गर्नुहुन्छ । तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।
षडानन्द र योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने षडानन्द प्रतिष्ठानका सदस्यसचिव लालनाथ सुवेदीले बताउनुभयो । समाजसुधारका क्षेत्रमा योगदान गर्नुभएका दुवैको योगदानको कदर गर्दै विभूति घोषणामा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।
नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ, पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ ।
चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेकपाले डिपी ढकलालाई उम्मेदवार बनाएको छ । उहाँले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अङ्कित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राख्नुभयो ।
खनालले भन्नुभयो, “आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ ।”
देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युत्भार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले भन्नुभयो, “नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, नेकपाको नेतृत्वको युग शुरु भएपछि उज्यालोको युग शुरु भएको छ ।”
आफ्नै देशमा उत्पादनको क्षमता हँुदाहँुदै पनि अरू देशबाट आयात गरिएका गोलभेँडा, प्याज, फलफूल खाइरहनु परेको बताउँदै वर्तमान सरकारले यस्तो विदेशमुखी अवस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको भनाइ उहाँले राख्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढीकरण गर्ने, पार्टी एकीकरणलाई तल्लो तहसम्म पूरा गर्ने र देशलाई आर्थिक समृद्ध पूरा गर्ने जिम्मेवारी नेकपाको सरकारले पूरा गर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेकपाको सरकार र नेकपाको स्थानीय तह आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामेश्वर फँुयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायत नेताहरुसमेत जनताको घरघरमा पुगेर नेकपालाई मतदान गर्न आग्रह गर्नुभयो ।
विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो– प्रधानमन्त्री
काठमाडौं २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्ने बताउनुभयो । सरकारको हैसियतअनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउनेतर्फ लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । कतिपय विकास निर्माणका आयोजना जग्गा प्राप्ति तथा अन्य मुआब्जालगायतका कारणले हाल पनि समस्यामा परेको भन्दै प्रधानमन्त्रीले त्यस्ता समस्याबाट बाहिर निकालेर आयोजनालाई समयमै सम्पन्न गर्नेतर्फ लाग्नसमेत सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
धानमन्त्री ओलीले राज्यबाट अनुचित लाभ लिनुपर्छ भन्ने प्रवृत्ति त्याग्नसमेत सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएकाले त्यसबाट आम नेपाली सबैलाई लाभ हुनेसमेत उल्लेख गर्नुभयो ।
नुचित माग गर्दा आयोजनाको लागत र समय दुवै बढ्ने भएकाले त्यस्ता गलत काम नगर्नसमेत प्रधानमन्त्रीको जोड थियो । प्रधानमन्त्रीले प्रविधिको प्रयोग गरी सिंहदरबारबाटै नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको आयोजना उद्घाटन गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोजना स्थल नुवाकोटको किस्पाङ गाँउपालिकाको सिम्लेलाई श्रव्यदृश्य प्रणालीमार्फत जोडिएको थियो । प्रधानमन्त्रीले आयोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाका निर्माण व्यवसायी एवं सम्पूर्ण श्रमिकलाई समेत धन्यवाद दिनुभयो । आयोजनाको औपचारिक उद्घाटन भई राष्ट्रिय प्रणालीमा थप ६० मेगावाट विद्युत् थप भएकोमा समेत प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो ।
