काठमाडौँ, ८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाउनुभएको छ । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताउनुभयो ।
काँग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन ।” वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उहाँको भनाइ थियो ।
