महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट मंसीर २४ गते एपीएफ टोली र नेपाल प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका ११ बस्ने १९ वर्षिया पिंकीकुमारी मुखिया छिन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी निज मुखियालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्रोक्सिभन प्लस ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।पक्राउ परेकी निज मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
यसैगरी उदपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित बकुन्द्रे खोला र सप्ताकोशी नदिको दोभानबाट एपीएफ टोलीले मंसीर २४ गते करीव एक सय १२ के.जी. गाँजा बरामद गरेको छ । सोही स्थानमा रहेको सप्तकोशीको जलमार्ग प्रयोग गरी अवैध रुपमा गाँजा ओसार पसार भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामपुरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाँजा ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको छ ।
यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका ३ स्थित लतमरीबाट मंसीर २४ गते एपीएफ टोलीले चोरीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । दुई वटा भारतीय नम्बरको म्याजीक भ्यानमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद भारतीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सुर्तीजन्य पदार्थ तथा उक्त दुई वटै म्याजीक भ्यान भन्सार कार्यालय गौरमा बुझाईएको छ । म्याजीक भ्यान तथा सुर्तीजन्य पदार्थको भन्सार दाखिला मुल्य १५ लाख ८५ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १४ स्थित कालिझोडाबाट मंसीर २३ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयरका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
