विराज भट्ट ‘साङ्लो २’ को तयारीमा

मनोरन्जन

काठमाडौं १० फागुन । एक समयका नेपाली फिल्मका बलशाली अभिनेता हुन्, विराज भट्ट । एक्सन फिल्ममा अभिनेता निखिल उप्रेतीको एकलौटी रगजग हुँदा नेपाली फिल्ममा प्रवेश गरेका उनले एकसेएक हिट फिल्म दिएका छन् । दशक अगाडि उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मका निर्माताले बोराका बोरा पैसा बटुल्थे । तर, नेपाली फिल्ममा राम्रो माग हुँदाहुँदै उनी भोजपुरी फिल्मतिर हानिए ।

भोजपुरी फिल्म गरिरहँदा उनले नेपाली फिल्ममा फर्किने प्रयास नगरेका होइनन् । केही फिल्म उनले साइन समेत गरेका थिए । तर, कुनै निर्माण भएनन् । निर्माता तथा निर्देशक रोज राणाले फिल्म ‘जय परशुराम’ बाट उनलाई नेपाली फिल्ममा फर्काए । तर, यो फिल्म बक्सअफिसमा डिजास्टर सावित भयो । यसपछि अभिनेता विराज पुनः चार वर्ष भोजपुरी फिल्ममै व्यस्त भए ।

‘जय परशुराम’ असफल भएपछि नेपाली फिल्ममा ‘विराज युग’ को अन्त्य भएको भन्दै टिप्पणी भएका थिए । तर, गएको माघ २४ गते प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ ले विराजको स्टारडम पुनः फिर्ता गरेको चर्चा सुरु भएको छ । चार वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका उनले निर्देशन, निर्माण र अभिनय गरेको यो फिल्मको इनिसियल बक्सअफिस आक्रामक थियो ।

प्रदर्शनको दोस्रो दिन शनिवार सिंगल थिएटरमा ठूलो कमाई गरेको फिल्मले भोली शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । प्रदर्शनको दुई हप्तामा फिल्मले लगानी सुरक्षित गर्‍यो त ? यो धेरैका लागि चासोको विषय हुनसक्छ । अभिनेता विराज भट्टले फिल्मको कमाई गोप्य राखेका छन् । वितरक गोपालकाली कायस्थ भने फिल्मलाई दिएको एमजीको रकम उठेको दाबी गर्छन् ।

उनले भने, ‘फिल्म हिट भयो वा फ्लप त्यो विराजजीलाई थाहा होला । तर, मैले फिल्मलाई दिएको ३० लाख एमजी चाहिँ प्रदर्शनको दुई हप्तामा सजिलै उठेको छ । अहिलेको समयमा वितरकले निर्मातालाई दिने एमजीको रकम उठ्नु पनि ठूलो कुरा हो ।’ उनले फिल्मको कमाई खुलाउन नचाहे पनि विराजले हलबाट मोटो रकम (शेयर) पाउने बताए ।

‘साङ्लो’ ले प्रदर्शनको दोस्रो दिन (शनिवार) आक्रामक व्यापार गरे पनि आइतवारबाट कमाईमा उछाल कायम गर्न सकेको थिएन । मल्टीप्लेक्समा दर्शकको चाप नहुँदा फिल्मलाई सिंगल थिएटरको मात्र भर थियो । फिल्मीखबरको खोजअनुसार, यो फिल्मबाट विराज भट्ट नाफा र घाटा दुवैमा छैनन् । एमजी, डिजिटल राइट्स र हलको शेयरबाट उनको लगानी उठ्ने देखिएको छ ।

वितरक कायस्थका अनुसार, अहिले अभिनेता भट्ट ‘साङ्लो २’ को तयारीमा जुटेका छन् । फिल्मको स्क्रिप्टमा काम सुरु भैसकेको उनले बताए । यसपटक फिल्ममा विराजसँगै मल्टीप्लेक्समा दर्शक तान्न अहिलेका एक चल्तीका अभिनेता पनि हुने बताइएको छ । फिल्मलाई फेरि विराजले नै निर्देशन गर्नेछन् । अब, एक्सनका पारखी दर्शकहरुलाई ‘साङ्लो २’ को प्रतिक्षा रहनेछ ।