काँग्रेस एक हुनुपर्छ : महामन्त्री खड्का

राजनीति

काठमाडौं २० फागुन २०७६ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताउनुभएको छ । लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री खड्काले सो धारणा व्यक्त गर्नुभएको हो ।

“अहिले काँग्रेस एक नहुँदा यो क्षति व्यहोर्नुपरेको छ”, उहाँले भन्नुभयो, “अब एक भएर मुलुकलाई अगाडि बढाउन आवश्यक छ ।” अहिले काँग्रेस गुटउपगुटले कमजोर बन्दै गएको भन्दै गुटभन्दा माथि उठ्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्व खड्काको जन्म गाउँमा शालिक निर्माण शुरु गरिएको हो । उक्त सालिक ढलोटको र पूर्णकदको रहनेछ ।

नेपाली काँग्रेस दाङका जिल्ला सदस्य गोविन्द रेग्मीका अनुसार दाङको विकास निर्माणमा नेता खुमबहादुरले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय दीपक गिरी, डा डिला सङ्ग्रोला, प्रदेश नं ५ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले अब काँग्रेसले मुलुकको समृद्धिको लागि एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभएको थियो ।