काठमाडौं, २२ फागुन २०७६ । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ । सहज परियोजनाद्वारा आज यहाँ आयोजित ‘समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उहाँले लैङ्गिक हिंसाको अन्त्यका लागि सभा गोष्ठीभन्दा सतहमा पुगेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
समाजिक कुरीतिका साथै लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत बनाउन सुझाव दिनुभयो । लैङ्गिक हिंसा अन्त्य गर्न प्रदेश सरकार गम्भीर रहेको दृढता प्रकट गर्दै उहाँले सानै उमेरदेखि छोरीलाई बलियो बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै प्रदेशको सरकारी सेवामा महिलालाई ५० प्रतिशत आरक्षण दिएको उल्लेख गर्नुभयो ।
सो परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसाको अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
