काठमाडौं ,१४ वैशाख २०७७। कोरोना भाइरसको संक्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्ष्य गरी यहाँका स्थानीय तहले खाद्य बैंक स्थापना गर्ने भएका छन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयानुसार सबै स्थानीय तहले कोरोनाको कहरसँगै वर्षात्मा हुन सक्ने विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरुप खाद्य बैंक स्थापना गर्न लागेका हुन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चित रहेकाले खाद्यान्न अभाव हुनसक्ने अनुमान गरी स्थानीय तहले अस्थायी खाद्यान्न बैंक स्थापना गर्ने निर्णय गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो ।
खाद्य बैंक स्थापनाका लागि स्थानीय तहको विपद् व्यवस्थापन कोषबाट केही रकम खाद्यान्न खरीदका लागि व्यवस्थापन गर्न सकिने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ढकालको भनाइ छ ।
खाद्य बैंकमा खाद्य मौज्दात गर्दा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने छ । मकै, कोदो र आलु रोल्पामा बढी उत्पादन हुने खाद्य पदार्थ हुन् भने चामल, गहुँ, दाल र तेल जिल्ला बाहिरबाट आयात गरिन्छ ।
