काठमाडौं,२५ वैशाख २०७७। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक सन्देश गएको चर्चा गर्दै अझै थप कडाइका साथ लाग्न आग्रह गर्नुभयो ।
विषम परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने उहाँले आश्वासन दिनुभयो ।
सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै उहाँले जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देश गर्नुभयो । उहाँले सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तरप्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्णरुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिन भन्नुभएको छ ।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै हुन सक्ने घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिनुभयो । बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत चनाखो रहन आग्रह गर्नुभएको छ ।
उँभौली पर्व
काठमाडौं,२५ वैशाख २०७७। प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यस कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधि मात्र पूरा गर्ने तयारी गरिएको हो । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् ।
