पशुबाट फाइदा र उनीहरूको अधिकार

कृषि राजनीति समाचार

सञ्जय साह मित्र
नेपाललाई कृषिप्रधान देश भनिन्छ । साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा प्रत्यक्ष वा परोक्ष संलग्न रहेको देखिन्छ । कृषिको योगदान देशको अर्थतन्त्रमा उल्लेखनीय रहेको छ । नेपालको भौगोलिक विभाजनको दृष्टिले हिमाल, पहाड र तराई अथवा नयाँ विभाजनको दृष्टिले सातवटै प्रदेशमा आप्mनै भूगोल र मानिसको रुचि अनुसारको कृषि हुन्छ । हिमालमा वर्षमा एउटा बाली हुन्छ भने तराईमा तीन बाली सजिलै उब्जाइन्छ । नेपालको साठी प्रतिशतभन्दा बढी मानिस जहाँ कृषिमा आश्रित वा कृषिसँग सम्बन्धित रहेको भए पनि करिब हरेक कृषि उपज बाहिरबाट नै मगाउनुपर्छ । नेपाल धान अर्थात् चामलमा आत्मनिर्भर छैन । देशको अन्न भण्डारको रूपमा रहेको प्रदेश २ मा पनि बाहिरबाट चामल आएको देखिन्छ । चामल, दाल, तरकारी, फलपूmल, चिनी आदि केही प्रतिशत विदेशबाटै आउँछ । नेपालको यस प्रकारका कृषि उपजले नेपालको मागलाई धान्ने अवस्था छैन । यदि विदेशबाट यस प्रकारका कृषि उपज नआउने हो भने नेपालीलाई बाँच्न सजिलो हुने अवस्था देखिंदैन । नेपालले कृषिको निकै कम क्षेत्रमा आपूmलाई आत्मनिर्भर बनाउन सकेको छ ।
कृषि उपजको बीउ पनि बाहिरबाटै आउँछ । कृषिमा लाग्ने मल, कीटनाशक औषधि तथा खनजोत गर्ने औजार, बाली काट्ने, दाइँ गर्ने र धानको भुस हटाउने मेशीन पनि बाहिरबाटै आउँछ । धानबाट चामल बनाउने मेशीन, गहुँबाट पीठो बनाउने मेशीन, भान्छामा प्रयोग हुने चुलो, कुकर, फिल्टर सबै विदेशकै हुन्छन् । यसरी समग्रमा भन्नुपर्दा कृषिको सम्पूर्ण क्षेत्रमा हामी कुनै न कुनै रूपमा विदेशमाथि पूरा निर्भर बन्न पुगेका छौं ।
कृषिको क्षेत्र व्यापक छ । यसको क्षेत्रभित्र पशुपक्षीपालन पनि पर्दछ । सामान्यतया पशु दुई किसिमको हुन्छ – घरपालुवा र वनमा बस्ने । जतिखेर मानिस नै जङ्गली प्राणी थियो, अर्थात् मानिसले घर बनाउन र खेती गर्न सिकेको थिएन, त्यतिबेला पनि मानिसको मित्र पशु नै थिए । मानिसले शिकार गर्ने समयमा काठ, ढुङ्गा तथा हाडको हतियारले काम चलाएको बखतमा कुकुरको सहारा लिएको देखिन्छ । कुकुरले मानिसलाई सहयोग गरेको थियो । मानिसलाई जीवन चलाउन नै कुकुरले सहयोग गरेको थियो । जीवनलाई सरल बनाउन सहयोग गरेको थियो ।
मानिसले शिकार गरेर ल्याएपछि कतिपय जनावरलाई जिउँदै पनि समात्न सफल हुन्थे । कहिलेकाहीं आखेटले दुई चार दिन पुग्ने हुन्थ्यो । दुई चार दिनलाई पुग्ने आखेट हुँदा जिउँदोलाई मर्न नदिन उसलाई मन पर्ने खाना पनि दिन्थे । यसरी दुई चार दिनको सट्टा कतिपय जनावरलाई कैयौं महिनासम्म राख्न थाले । यसले गर्दा पशुपालनको विकास भयो । मानिसले पशुपालन जङ्गली अवस्थामा नै सिकेको हो । पहिले पशुपालन सिकेर त्यसपछि पशुबाट कृषिमा सहयोग लिन थाल्यो । कृषिमा पशुको सहयोग हुन थालेपछि कृषि र पशुपालनको नाता मानिससित अन्योन्याश्रित बन्न पुग्यो । आजसम्म मानिस र पशुको नाता अन्योन्याश्रित रहेको छ ।
ग्रामीण क्षेत्रमा झन्डै हरेक घरमा कुनै न कुनै पशु पालिएको हुन्छ । दहेजमा पशु लिने र दिने चलन अहिलेसम्म विद्यमान छ । ग्रामीण समुदायमा भैंसी, गोरु, गाई तथा बाख्रा पाल्ने चलन छ । यी गोरुले कृषिकर्ममा सहयोग पु¥याउँछ भने भैंसी, गाई तथा बाख्रापालन आय आर्जनको लागि गरिन्छ । ग्रामीण समुदायमा गाईपालनको उद्देश्य आय आर्जन र गोरु प्राप्ति दुवै हुन्छ ।
भैंसीपालनले झन्डै चौथाई व्यावसायिक पशुपालनको काम गरेको हुन्छ । कमसे कम दुईवटा भैंसी पाल्ने परिवारको घरको आर्थिक अवस्थामा भैंसीले राम्रै योगदान दिइरहेको हुन्छ । वर्षमा कम्तीमा एकचोटि भैंसी ब्याउने हुनाले भैंसीको दूध बेचेर र पाडा वा पाडी बेचेर किसानले राम्रो आयआर्जन गर्दछ । अहिले दूधको मूल्य साठी रुपियाँदेखि सत्तरी प्रतिलिटर पुगेको हुनाले सामान्यतया पाँचदेखि दश लिटरसम्म एउटा भैंसीले एक दिनमा दूध दिने भएकोले भैंसी पाल्ने किसानले राम्रो आयआर्जन गर्न सफल भएका छन् । भैंसीको जात अनुसार वर्षमा कम्तीमा पाँच महिनादेखि नौ महिनासम्म दूध दिने र तीन महिनाभन्दा बढी अवधिमा आउने जति पैसा बाछा वा बाछीले पनि दिने हुनाले भैंसीपालनले लोकप्रियता पाएको हो । दुईटा भैंसी पाल्ने किसानले आप्mनो खेतीपाती पनि राम्ररी गर्न सक्ने समय पाउने र घरको एकजनाले दिनभर समय दिइरहन पनि नपर्ने हुनाले यस प्रकारको भैंसीपालन ग्रामीण क्षेत्रमा निरन्तर फस्टाउँदै गएको हो ।
ग्रामीण समुदायमा बाख्रापालन लुकेको व्यावसायिक पशुपालन हो । बाख्रापालनले घरको सामान्य काम धान्न निकै सहयोग पु¥याउने गर्दछ । दुईचारवटा बाख्रा पाल्नुलाई गाउँघरमा सामान्य मानिन्छ । बाख्रापालनमा घरका वयस्क मानिसले समय दिएको पाइन्न खासै । खासमा बालबालिकामाथि गाउँघरमा बाख्रापालनको मुख्य जिम्मेवारी रहेको देखिन्छ । मुख्यतः दिउँसो बालबालिका नै बाख्रा चराउन लैजान्छन् । घरका ठूला मान्छेले अलिकति घाँस वा बाख्राले मन पराउने कुनै रूखको पातयुक्त हाँगा ल्याइदिन्छन् । बाखाले वर्षमा दुईचोटिसम्म दुईदेखि चारवटासम्म पाठापाठी दिने हुनाले राम्रै आय प्राप्त भइरहेको हुन्छ । खसीको मूल्य निकै बढेकोले किसानको लागि आयको राम्रो स्रोत बाख्रापालन बन्न पुगेको देखिन्छ । बाख्रापालनले विपन्न समुदायको अर्थतन्त्रमा निकै सकारात्मक प्रभाव पारेको देखिन्छ ।
मानिसको जीवनसित नजीकको सम्बन्ध राख्ने पशुहरूको महŒव निकै धेरै छ । वन्यजन्तुले पनि मानव जीवनलाई सहयोग पु¥याएको देखिन्छ । विभिन्न आरक्ष केन्द्रहरूले सजिलै कैयौंलाई रोजगार दिएका छन् । वन्यजन्तुको संरक्षणको अभियान विश्वव्यापी थालिएको छ । वातावरणमा वन्यजन्तुको सकारात्मक प्रभाव पर्ने गरेको कारण वन्यजन्तु अर्थात् जङ्गली जनावरको संरक्षणको अभियान विश्वव्यापीरूपमा थालिएको हो । बाँच्न पाउनु सबैको अधिकार हो, यस अर्थमा पनि सबै किसिमका पशुहरूको बाँच्ने अधिकारको कुरा धेरैतिरबाट उठ्न थालेको छ ।
विभिन्न बहानामा पशुको बलि दिइने गरिन्छ । विभिन्न क्षेत्रबाट पशुबलिको विरोध भइरहेको छ । मन्दिर अगाडि देउताको बहानामा पशुको बलि दिइन्छ । यस प्रकारको पशुबलिले मानवको कल्याण गर्दछ भन्ने अन्धविश्वास अझै पनि कायम छ । पशुबलिका विरोधीहरूले सबै प्रकारको पशुबलिको विरोध गर्दछन् तर जुन कारणले पशुबलि दिइन्छ, त्यसको कारणतर्फ भने खासै ध्यान दिएको पाइन्न । पशुबलिको पछाडि रहेको अन्धविश्वासलाई भने यथावत् राखेर पशुबलिको विरोध गर्नुले अपेक्षित सार्थक परिणाम ल्याउन सक्दैन ।
कतिपय मानिस नै पशुको जीवन जिउन बाध्य छन् । कुनै पनि मानव अधिकारको अर्थ नबुझेका मानिसहरू पनि छन् । अज्ञानता र विपन्नताले दासको जीवन जिउने मानिसहरू नभएका होइनन् । सबै मानिसले चाहिं मानव अधिकार पाउनुपर्छ र पाउनै पर्दछ तर मानव अधिकार तथा मौलिक अधिकारको प्रत्याभूति नहुँदासम्म पशुको अधिकारबारे चर्चै गर्नुहुन्न भन्ने होइन । पशुमाथि जति धेरै हिंस्रक बन्छौं उति धेरै अमानवीय प्रवृत्तिको विकास हामीमा हुन्छ । यसकारण पशु दिवसले मानिसलाई पशुवत् हुनबाट जोगाउँछ । पशुहरूप्रति पनि सम्मानभाव राख्नुपर्छ । हामीले कतिपय मानिसलाई देखेका छौं– बाघसँग रमाएको, चितुवासित रमाएको । सिंहसित सुतेको पनि देखेका छौं । गोहीसित मित्रता गाँस्ने मानिस पनि छन् । सर्पलाई घरमा पालेर जीवनयापनमा सहयोग लिएको पनि देखेका छौं । पशुले पशुवत् व्यवहार नगरेको र मित्रवत् व्यवहार प्रस्तुत गरेको तर मानिसले पशुमाथि निर्दयी व्यवहार गरेको हामीले पाएकै छौं । अझ खसी, बोका, राँगा, हाँस, कुखुरा, परेवाजस्ता पशु र पन्छीलाई बालबालिकासमेतले देख्ने गरी बलि दिन्छौं । बलि चढाउनु भनेको हतियारले प्रहार गरेर हत्या गर्नु हो । बालबालिकाले यस प्रकारको हत्याबाट धर्म हुन्छ भन्ने पनि सिक्न सक्छन् भन्नेतिर हामीले ध्यान दिएका हुँदैनौं । बालबालिकाले देख्नेगरी कुनै पनि पशुको बलि अथवा बध गरिनु हुन्न भन्ने कुरालाई नै हामीले बुझ्न बाँकी छ । यस कारण पशुबारे हामीले धेरै सचेत हुनुपर्ने देखिन्छ । अहिले कुखुरा तथा भैंसी र राँगाको जुन रूपमा गाडीमा ओसारपसार हुन्छ, त्यो निन्दनीय छ । यस प्रकारको प्रवृत्तिमा सुधार ल्याउनु आवश्यक छ । कतिपय पशु अधिकारवादीले यसतर्फ सरकारलाई सचेत गराएको पनि देखिन्छ । जसको गोबर, पिसाब, दूध, छाला र मासु उपयोग गर्छौं, तीप्रति निर्दयी बन्नुलाई अब अस्वाभाविक ठानिनुपर्छ । पशुहरूको पनि अधिकार हुन्छ भन्नेतिर अब हामीले नै गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।

Facebook Comments Box