भक्तपुर, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधीकरण नै हो, कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ ।” कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरी कृषि उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपालको जल, जमीन र जडीबुटीको समुचित उपयोग गरी कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सकिनेतर्फ ध्यान जानुपर्ने आँैल्याउनुभयो ।
कृषकको समग्र समस्याको समाधान राज्यले नै गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधन भए पनि यसको समुचित प्रयोग हुन नसक्दा देश गरीब भएकाले अब कृषिमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो । कृषकको समस्या राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले पछिल्लो समयमा ल्याएको कृषकमुखी कार्यक्रम निकै उपलब्धिमूलक भएको बताउनुभयो ।
कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यावसायिकीकरण र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर पाँच स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकको एक करोड र सरकारको एक करोडको अनुदान रकमबाट मुलुकका पाँच स्थानमा कृषि बजार निर्माण गर्ने तयारीअनुरुप सरकारले तीन स्थानमा जमीनको समेत व्यवस्था गरिसकेको छ, पाँच ठाउँमा तरकारी बजार व्यवस्थापन भएपछि कृषकलाई तरकारीको बजार पाउन समस्या छैन ।”
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङले कृषिलाई आधुनिक र वैज्ञानिक ढङ्गबाट विकास गर्दै कृषि उत्पादन बढाउन नार्कले विभिन्न अनुसन्धनात्मक कार्य गरिरहेको र अर्गानिक खेतीको विकासका लागि योजना बनाइरहेको बताउनुभयो । त्यस अवसरमा नेकपा नेता उर्मिला अर्याल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले कृषिको विकासका लागि सरकारले विषादीरहित कृषि उत्पादन गर्ने ढङ्गबाट योजना बनाएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।