कृषि क्षेत्रको उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो’

कृषि समाचार

काठमाडौँ, २५ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भूसालले कृषि क्षेत्रको पहिलो प्राथमिकता कृषि उपजको उत्पादन वृद्धि भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ माथिको छलफलमा उहाँले आयत प्रतिस्थापन गर्न उत्पादन वृद्धि नै एकमात्र विकल्प भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँझो जमीनमा खेती र आकासे पानीमा निर्भर जमिनमा सिँचाइ विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । यसका मध्यमबाट उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।”

समयमै रासायनिक मल आपूर्ति हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष चार प्रतिशत अर्थात दुई लाख ३७ हजार मेट्रिक टन धानको उत्पादन वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भुसालले हामीले खाने खानाको ६७ प्रतिशत स्रोत धान भएकाले धान उत्पादनको महत्व महत् रहेको बताउनुभयो ।

मुलुकमा हाल ३० लाख ९१ हजार हेक्टर जग्गामा खेती हुँदै आएकामा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भएको बताउनुभयो । धानखेतीको ६८ प्रतिशत हिस्सा तराई मधेशमा हुँदैआएको छ । देशभर १७ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना खेती हुने गरेको छ ।

मुलुकमा धानको उत्पादनलाई वृद्धि गर्न यसै वर्षदेखि चैते धानको रोपाई १७ हजार हेक्टरसम्म विस्तार गरिने बताउँदै कृषि मन्त्रीले त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सिँचाई, मल,बीउ, औजारमा अनुदान बढाइदै लैजाने विश्वास दिलाउँनुभयो ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि लगानी त्यस अनुरुपका बजेट विनियोजन र लगानी वृद्धि नगरेको तथा उत्पादन बढाउन ठोस कार्य योजना नबनाएको गुनासो समिति सदस्यले गर्नुभएको थियो ।

उहाँहरुले बजेट विनियोजन हेर्दा सरकारको नियतप्रति प्रश्न गर्ने धेरै ठाउँ रहेको जनाउँदै निर्यात गर्ने वस्तु उत्पादन कार्ययोजना बनाई कार्यान्वयन नगरेसम्म व्यापार सन्तुलन र समृद्धि प्राप्त गर्न चुनौती हुने बताउनुभयो ।

Facebook Comments Box