मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक’

कृषि मुख्य समाचार समाचार

राजविराज (सप्तरी), १९ फागुनः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समृद्ध नेपाल निर्माण गर्न कृषि क्षेत्रको विकास आवश्यकता रहेको बताउनुभएको छ ।

समाजवादी किसान महासङ्घ केन्द्रीय कार्यसमितिद्वारा सप्तरीको राजविराजमा आज आयोजित मधेस प्रदेशस्तरीय अगुवा किसान भेला तथा पुनःगठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेकै कारण अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।

उहाँले मुलुकको विकासका लागि कृषि क्षेत्रमा आधुनिकीकरण जरुरी रहेको उल्लेख गर्नुभयो । कृषि क्षेत्रको विकासका लागि सिँचाइ, समयमै मलखाद जरुरी रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले चुरे क्षेत्रमा गिट्टी र बालुवाको उत्खननले पानीको सतह गहिरो हुँदै गएकाले निकट भविष्यमै किसानले सिँचाइको ठूलो मार खेप्नुपर्ने अवस्था देखिएको बताउनुभयो । चुरे विनाशले तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको र पानीको स्रोत विस्तारै सुक्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले चुरे संरक्षण नहुने हो भने त्यसको प्रत्यक्ष प्रभाव पशुपालन र कृषि क्षेत्रमा पर्न गई किसानले आत्महत्या गर्नुपर्ने दिन आउनसक्ने भन्नुभयो ।

उहाँले कृषि नीतिमा पूरै परिवर्तन नभएसम्म कृषि क्षेत्र समृद्ध र सबल हुन नसकिने उल्लेख गर्नुभयो । “देशका ८० प्रतिशत जनता कृषिमा पेसामा छन् । तर कृषिमा चार–पाँच प्रतिशतमात्रै कृषिमा बजेट विनियोजन हुने गरेको छ”, उहाँले भन्नुभयो, “राज्यले किसान र कृषि क्षेत्रलाई महत्त्व नदिँदा कृषि क्षेत्रको विकास हुनसकेको छैन ।” अध्यक्ष यादवले कृषि उत्पादन बढाउन र कृषिमा आत्मनिर्भर बन्नका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

वर्तमान कृषि नीतिले किसानले सोचेजस्तो उत्पादन लिन नसक्ने दाबी गर्दै अध्यक्ष यादवले जमिनलाई चकलाबन्दी गरी कृषिमा आधुनिकीकरण गर्दै विज्ञान, प्रविधि र आधुनिक उपकरणको प्रयोगमार्फत उत्पादन बढाउन राज्यको कृषि नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

“कृषि उत्पादनमा ह्रास आउँदा त्यसको असर उद्योग व्यवसायमा समेत पर्न गएको छ”, अध्यक्ष यादवले भन्नुभयो । मुलुकमा बेरोजगारी समस्या अन्त्य गर्न कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समृद्ध र सम्पन्न हुनुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष यादवले दूध उत्पादक किसानले नियमति भुक्तानी नपाएको भन्दै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश कमिटी अध्यक्ष बालकिशोरप्रसाद यादवले सिँचाइको सुविधा सबैलाई समानरुपले उपलब्ध हुनुपर्ने बताउनुभयो ।

Facebook Comments Box