आलुखेती गरेका किसान रोग लागेपछि चिन्तित

कृषि समाचार

गलेश्वर (म्याग्दी), २५ फागुन : सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरीखेती छाडेर आलुखेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन् ।

परम्परागत बाली छाडेर आलुखेतीतर्फ लागेका किसान डडुवा रोगका कारण आलुका बोटका पात र आँख्ला सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन् । गहुँ, जौ, उवा, फापर र तोरीखेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलुखेती गर्न थालेका थिए ।

म्याग्दीको बेनी नगरपालिकासहित मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा पालिकाका किसान व्यावसायिक आलुखेतीमा लागेका कृषि ज्ञान केन्द्रले जनाएको छ । मालिका गाउँपालिका–१ निस्कोट, वडा नं २ रुम, ६ दरवाङ र ७ बिम तथा मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत बेनी नगरपालिकाका दशवटै वडामा आलुखेती हुने गरेको छ ।

अधिकांश वडाका किसान परम्परागत अन्नबाली छाडेर आलुखेतीतिर लागेका पालिकाका कृषि प्राविधिकको भनाइ छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीका रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।

उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकर्षित भएका मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । व्यावसायिक रुपमा आलुखेती गर्दै आएका बेनी नगरपालिका तथा मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् ।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । आलुखेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलुखेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगङ्गा–६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान टेकबहादुर छन्त्यालले बताउनुभयो । खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीको रेखदेख गर्ने गरेमा आलुलाई रोग किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ छ । म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलुखेती गरिएको छ । आलु सुपरजोन र स्थानीय पालिकाको साझेदारीमा बीउमा अनुदानमा पाई किसानले करिब एक हजार क्विन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछौटे डडुवा आलुखेतीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढिरहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छभने तराईका जिल्लामा महामारीका रुपमा फैलिएको छ । यसको सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । उहाँका अनुसार अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भइरहे पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उहाँको भनाइ छ ।

‘फाइटफथोरा इन्फेस्टेन्स’ नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् । लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ तथा माटोको माध्यमबाट यो रोग देखापर्ने विशेषज्ञको भनाइ छ ।

म्याग्दीमा आलु मौसममा प्रतिकिलो रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु ८० देखि रु एक सयसम्ममा बिक्री गर्न सकिने किसानको भनाइ छ । आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको किसानको माग छ ।

Facebook Comments Box