काठमाडौँ, १० मङ्सिरः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा आजदेखि यहाँ सुरु भएको पन्ध्रौँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले सबै कृषिजन्य बालीको उत्पादनको आधारभूत स्रोत बीउ भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायका साथै निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकाले आपसी सहकार्य र समन्वयबाट उत्पादन वृद्धिमा सबै केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेको बताउँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालै बीउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।
पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढिरहेको उल्लेख गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बीउ उत्पादकहरू र कृषकको सहभागिता छ ।
सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।