ज्यापू दिवस देशभरिका किसानको दिवसः उपप्रधानमन्त्री सिंह

कृषि मुख्य समाचार राजनीति

काठमाडौँ, ३० मङ्सिरः उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौँ उपत्यकाका नेवार समुदायको मात्र नभई देशभरिका किसानको दिवसका रूपमा रहेको बताउनुभएको छ ।

ज्यापू संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा उहाँले नयाँ बाली भित्र्याइसकेपछि त्यसको चामलबाट नै योमरी बनाउने गरिएकाले यो दिवस सबै किसानको दिवस रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले हाम्रो समाजमा परिश्रम गर्नेलाई तल्लो तहबाट हेर्ने गरेकामा त्यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । “श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने विकास निर्माण हुँदैन । आजको दिवसमा खेतमा परिश्रम गरेर सबैलाई खाद्यान्न पु¥याउने परिश्रमीलाई सम्मान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

मन्त्री सिंहले ज्यापू दिवसलाई व्यवस्थित बनाउन एउटा स्थायी कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै पुर्खाले सिकाएको संस्कृति र चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले योमरी कृषि सभ्यताको प्रतीक रहेको बताउनुभयो । उहाँले भाषा, संस्कृति रहनसहन, खानपान, वेशभूषा र परम्परा रहेको नेवार समुदायजस्तो विश्वमा अन्य समुदाय नभएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल विभिन्न संस्कृतिको देश भएको बताउनुभयो । उहाँले नेपालमा मनाइने विभिन्न जात्राहरूले मुलुकको सांस्कृतिक महत्वलाई उजागर मात्र नगरेर देशको पहिचान बोकेको बताउनुभयो । उपप्रमुख डङ्गोलले मुलुकको आर्थिक क्रान्ति ल्याउन पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीद्वारा विभिन्न विधाका पुरस्कार प्रदान

कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू दिवसका अवसरमा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गर्नुभयो ।

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठलाई ज्यापू प्रज्ञा, वरिष्ठ मूर्तिकार धर्मराज शाक्यलाई ज्यापू सम्मान प्रदान गरिएको छ । यस्तै, ज्यापू युवा प्रतिभा सम्मान वाद्यवादन विधामा रोसिका गधारीलाई, ज्यापू युवा सशक्तीकरण सम्मान सञ्जय महर्जन, ज्यापू प्रतिभा सम्मान सञ्चारमा सुनिल महर्जन, ज्यापू प्रतिभा (शिक्षा)जयन्ती महर्जनलाई प्रदान गरिएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद प्रदान गरिएको हो ।

यस्तै, ज्यापू युवा खेलकुद सम्मानबाट विक्रम महर्जन, योनोज महर्जन र अञ्जली महर्जनलाई प्रदान गरिएको छ ।

यस्तै, ज्यापू युवा सम्मान कलामा आनन्द महर्जन, ज्यापू बाल प्रतिभा पुरस्कार सुजिति डङ्गोल, टकमान सेवा समाज पुरस्कार शरणगोपाल डङ्गोल र वाद्यगुरु कृष्णभाइ महर्जन स्मृति पुरस्कार बुद्धिबहादुर डङ्गोललाई प्रदान गरिएको छ ।

ज्यापू समाजका अध्यक्ष मोहनकृष्ण सिंहले ज्यापू दिवसलाई सबै नेपालीको दिवस बनाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box