कचहरीमार्फत कर्णालीको सांस्कृतिक यथार्थ

मनोरन्जन समाचार

सिञ्जा, २३ माघ । जुम्लामा कचहरी चलचित्र उद्घाटन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र पूर्वसांसद डिल्लीप्रसाद काफ्लले कर्णालीका पर्यटकीय र ऐतिहासिक मठमन्दिर, तालतलैया र यहाँको परम्परामा आधारित रहेर चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो ।

कचहरीका निर्देशक शक्ति परियारले कर्णालीमा रहेको छुवाछूत, जारी, दाइजो, हलिया प्रथा र लैङ्गिक हिंसामा आधारित रहेर चलचित्र निर्माण बताउनुभयो । चलचित्रमार्फत कर्णालीको मौलिकता र वास्तविकता देखाउन खोजिएको निर्माता हरिबाबु चौलागाईंले बताउनुभयो । करीब साढे २ वर्ष लामो प्रयासमा यो फिल्म सामजको माझ देखाउन सफल भएको उहाँले बताउनुभयो । यो चलचित्र निर्माण गर्नमा जुम्लाका आठ वटै स्थानीय तहले सहयोग गर्ने वचन गरे पनि अहिलेसम्म कोही कसैले सहयोग नगरेको चौलागाईंले जानकारी दिनुभयो ।

कर्णालीका ऐतिहासिक क्षेत्रहरु ओझेलमा परेको पुर्खांैपुर्खादेखि समाजमा बोलिँदै आएको वेशभूषालाई कथाका माध्यमबाट वास्तविकता झल्काइएको उहाँले उल्लेख गर्नुभयो । चौलागाईंले कर्णालीका गाउँघरमा झगडा भएमा कचहरी बस्ने, जारी काट्ने प्रथाको परम्परा रहेको भन्दै कथा लेखन मदन नेपाली यसलाई अब यथार्थमा चित्रण गरिएको धारणा राख्नुभयो । यो चलचित्रले मौलिकता झल्काएको उहाँको भनाइ छ । कचहरी चलचित्रको उद्घाटन सत्रमा बोल्दै चन्दननाथ नगरपालिका प्रमुख सेजुवाले जुम्लाको मौलिक पहिचान झल्काइएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बाजेबज्यैको पालादेखि बोलिँदै आएको भाषा, उनीहरुले लगाउँदै आएको पोशाक, समाजले उपल्लो जातिले तल्लो जातिलाई गर्ने व्यवहार सबै समेटिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभएको हो । फिल्मको नाममा विकृतिको सन्देश नफैलाई समाजमा रहेका यथार्थ कुरामार्फत आफ्नो सीप प्रदर्शन गर्ने सबै कलाकारलाई धन्यवाद दिनुभएको छ । पुरानो रीतिरिवाज, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्न तथा व्यवस्थापन गर्नमा नगरपालिका पछि नहट्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

पूर्वसांसद डिल्लीप्रसाद काफ्लले कर्णालीको कथाव्यथालाई यथार्थमा चित्ररण गरेको बताउनुभएको छ । ओझेलमा परेका कला, संस्कृतिको पहिचानतिर ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उहाँले जुम्लाको पहिचान हराउने अवस्थामा पुगेको विचार राख्नुभयो । पुराना संस्कृतिलाई जगेर्ना गर्नका लागि सबै पक्षबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । प्रजिअ विष्णु पौडेलले कलाकारको अभिनय राम्रो भएको बताउनुभयो ।

जुम्लाको इतिहासकालदेखिको गर्ने व्यवहार र बोल्ने भाषाको सत्यतथ्य झल्काएको जानकारी दिनुभएको छ । कर्णालीको खष भाषाशैलीमा छायाङ्कन गरिएको चलचित्रले कर्णालीमा विद्यमान छाउपडी प्रथा, जारीप्रथा र हलिया प्रथालाई कथाको मुख्य विषयवस्तु बनाइएको छ । चलचित्रमा खष भाषा सम्पादन हरिबाबु चौलागाईंसहित दुई जनाले गरेका छ । कथानक चलचित्रमा कर्णालीवासीले पुर्खौंदेखि भोग्दै आएको वास्तविक जीवनशैली प्रस्तुत गरिएको छ ।

कर्णालीका ऐतिहासिक, पर्यटकीय क्षेत्र तथा मनोरम दृश्यमा छायाङ्कन गरिएको चलचित्रले यहाँको निर्वाहमुखी परम्परागत अर्गानिक खेती प्रणालीमा कृषकको जीवनचक्र, काला पहाडिनुको बाध्यतासहितको सन्दर्भ पनि प्रस्तुत गरेको छ । चलचित्रको मुख्य भूमिकामा कलाकार गीता कटुवाल र नवदत्त न्यौपाने हुनुहुन्छ ।

त्यस्तै निर्देशकमा शक्ति परियार, कथा लेखनमा मदन नेपाली र छायाङ्कनमा सरोज शाहीले गर्नुभएको छ । करीब दुई घण्टाको चलचित्र ४० लाखभन्दा बढी लागतमा निर्माण भएको निर्देशक शक्ति परियारले बताउनुभयो । मुख्य भूमिकामा रहेका कलाकार ठेके र चैतुको वृत्तचित्रमा प्रस्तुत पारिवारिक जीवन शैलीले समग्र कर्णालीवासीकै जीवन शैलीलाई सम्बोधन गरेको उहाँको भनाइ छ । चलचित्रमा अभिनय गरेका ४० जना कलाकार सबैजनाले हाल कर्णालीमा लोप भइसकेका बहुमूल्य परम्परागत पहिरनमा सजिएका छन् भने कलाकारले प्रयोग गर्ने अन्य सबै परम्परागत सामग्री छन् ।

Facebook Comments Box