नेवार समुदायको महान् चाड लाखेजात्रा : दिक्तेलबजार बन्यो उल्लासमय !

मनोरन्जन समाचार

खोटाङ, ८ भदौः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आज बृहत् लाखेनाच प्रदर्शन गरिएको छ । दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा विभिन्न ठाउँका नेवार समुदाय भेला भएर बृहत लाखेनाच प्रदर्शन गरेका हुन् ।

बृहत् लाखेनाच प्रदर्शनी कार्यक्रममा दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानीलगायत ठाउँमा बसोबास गर्ने नेवार समुदायबाट आएका लाखे टोलीले नाच प्रदर्शन गरेको आयोजकले जनाएको छ । मुखुण्डोधारी लाखेनाचसहित गुञ्जिएको ढोल झ्याम्टाको ताल र गीतले दिक्तेलबजारको माहोल दिनभर उल्लासमय बनेको थियो ।

दिक्तेलबजारको किरातचोकबाट सुरु भएको बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम रत्नपार्क, बेसक्याम्प, त्रिवेणीचोक, शङ्खधर साख्वाचोक हुँदै हाटडाँडा पु¥याएर समापन गरिएको छ । नेवारी वेशभूषामा सजिएर विभिन्न ठाउँबाट आएका नेवार समुदायको बृहत् लाखेनाच प्रदर्शनी कार्यक्रममा गैरनेवार समुदायको पनि उल्लेख्य सहभागिता थियो ।

लाखेजात्राका अवसरमा आपसी भाइचारा एवं संस्कृति संरक्षणका लागि आज बृहत लाखेनाच प्रदर्शनी कार्यक्रम आयोजना गरिएको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ ले बताउनुभयो । “दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा लाखेजात्राको अवसर पारेर दिक्तेलबजारमा हरेक वर्ष लाखेनाच प्रदर्शन गर्ने गरिएको छ । नेवार समुदायले आयोजना गरेको बृहत् लाखेनाच प्रदर्शनी कार्यक्रममा अन्य समुदायको पनि बाक्लो उपस्थिति थियो”, उहाँले भन्नुभयो, “यसले आपसी भाइचाराको विकास भएको महसुस गरेका छौँ । नागपञ्चमीदेखि सुरु गरिएको लाखेजात्रा श्रीकृष्णजन्माष्टमीसम्म विविध कार्यक्रमसहित मनाउने गरिएको छ ।”

‘ल्होसारमा सेलो नाचौँ, साकेलामा सिली, लाखे नाचौँ, बालन नाचौँ सबै जाति मिली’ भन्ने नारासहित सबै समुदाय मिलेर यस्ता संस्कृति जोगाउन लाग्नुपर्ने दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठले बताउनुभयो । “सबै समुदायका संस्कृति जगेर्ना र दिक्तेलको विकासका लागि दिक्तेल सरोकार केन्द्र गठन गरिएको छ । यो साल दिक्तेल बजार सामाजिक गुठीको संयोजनमा ८० वर्ष पुगेका वृद्धवृद्धालाई सम्मान पनि गर्यौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा सरोकार केन्द्रको तर्फबाट अझ व्यापक रूपमा कार्यक्रम आयोजना गर्ने योजना छ । यसले सबै समुदायका संस्कृति जगेर्ना र दिक्तेल बजारको समग्र विकास हुने अपेक्षा गरेका छौँ ।”

लाखेजात्रालाई नेवार समुदायले परापूर्वकालदेखि मुख्य चाडको रूपमा मनाउने गरेको नेवार मुक्ति मोर्चा खोटाङका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । “यस चाडमा नेवार समुदायमा दिवङ्गत भएका पितृगणको सम्झनामा गाईको तस्बिरसहितको सापारु समेत निर्माण गरिन्छ । सापारु बोकेर टोलटोल घुमाउँदै मृतकको सम्मान तथा सम्झनामा जीवनी गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यस दिन भजनकीर्तन तथा रामायणसमेत वाचन गर्ने चलन छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो चाड नेवार समुदाय रहेका विभिन्न सहर तथा ठाउँमा मनाउने गरिएको छ ।”

नेवार समुदायको बसोबास रहेको जिल्लाका अन्य ठाउँमा पनि धुमधामका साथ लाखेजात्रा मनाउने गरिएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ठाउँमा बसोबास गर्ने नेवार समुदायले लाखेजात्राको अवसरमा पितृकार्य गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गरेका छन् ।

अठार दिनसम्म मनाइने लाखेजात्राका अवसरमा विभिन्न ठाउँमा बसोबास गर्दै आएका आफन्तजन भेला भएर शुभकामना आदानप्रदान गर्ने, मिठा खानेकुरा बनाएर खाने, विन्नि सांस्कृतिक झाँकी प्रदर्शन गर्ने गरिएको आयोजकले जनाएको छ । लाखेजात्राका अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘गाईजात्रा’को दिन सार्वजनिक बिदा दिने गरेको छ ।

यसैबीच, नेवार समुदायको घनाबस्ती रहेको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा एक सय ६३ वर्षअघि निर्माण गरिएको लाखेको मुकुट चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको छ । विसं १९१८ मा घरेलु औजार प्रयोग गरेर बनाइएको लाखेको ऐतिहासिक मुकुटको सम्मान र सम्झनामा सोही मुकुट चित्रण गरेर निर्माण गरिएको लाखेको मूर्ति लाखेजात्राका अवसर पारेर अनावरण गरिएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको रु १६ लाख अनुदानमा ढलौट प्रयोग गरेर लाखेको मूर्ति निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । स्थानीय कालीगढले गुराँसको काठ प्रयोग गरेर निर्माण गरेको लाखेको ऐतिहासिक मुकुट चित्रण गरेर निर्माण गरिएको लाखेको मूर्ति अनावरण गरिएसँगै त्यस चोकलाई ‘लाखेचोक’ नामकरण गरिएको छ ।

सबै समुदायको पहिचान झल्काउने प्रतिमूर्ति स्थापना गर्ने गाउँपालिकाको निर्णयअनुसार ऐसेलुखर्क बजारमा नेवार समुदायको लाखेको मूर्ति निर्माण गरेर अनावरण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले बताउनुभयो । ऐसेलुखर्क बजारमा १९१८ सालदेखि नेवार समुदायको बसोबास रहेको इतिहास छ ।

Facebook Comments Box