मिथिलाको लोकनृत्य झिझिया महोत्सव मनाइने

मनोरन्जन समाचार

जनकपुर, २१ असोज : वडा दसैँको अवसरमा जनकपुरधाममा आयोजना गरिने झिझिया महोत्सव यसवर्ष पनि हुने भएको छ ।

आज यहाँ नव मिथिला फाउण्डेशनले पत्रकार सम्मेलन गरी बुधबार झिझिया महोत्सव मनाइने जानकारी दिएको हो । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने झिझिया महोत्सवलाई फाउण्डेशनले दोस्रो वर्ष पनि निरन्तरता दिन लागेको आयोजकले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष अमित कुमारले गाउँगाउँबाट झिझिया टोलीसँगै दुई वटा स्थानीय विद्यालयका छात्राहरुको टोली महोत्सवमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले गतवर्ष झैँ यसपटक पनि पाँचसय जनाले टाउकोमा घैँटा राखेर झिझिया नाच्न लागिएको स्पष्ट पार्नुभयो ।

जनकपुरस्थित रेल्वे स्टेशनको प्राङ्गणमा हुने महोत्सवमा धनुषाधाम समूह, अप्पन मिथिला झिझिया समूह जनकपुरधाम–४, जनकपुरधाम–१२, मिथिलेश्वर झिझिया समूह, हिमाली बोर्डिङ स्कुल र जनकपुर एकेडमीलगायतको झिझिया समूह सहभागी हुने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिनुभयो ।

झिझिया महोत्सव अवलोकन गर्न जनकपुरधाम रेल्वे स्टेशनमा गत वर्ष हजारौँ दर्शकहरुको भीड लागेको थियो ।

Facebook Comments Box