काठमाडौँ, १३ मङ्सिर : लघु चलचित्र ‘दसैँ आयो’ले रु एक लाख नगद पुरस्कार जित्न सफल भएको छ । अस्कर इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आज आयोजित दोस्रो ‘युवा सर्ट फिल्म’ प्रतिस्पर्धामा ‘दसैँ आयो’ प्रथम भएको हो । उक्त चलचित्र शिल्पा केसीले निर्देशन गर्नुभएको हो ।
प्रतियोगितामा अर्जुन तिरूवाको ‘द ब्रिजु’ र ‘विशाल झाको अन्तिम यात्रा’ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः रु ५० र २५ हजार नगद जिते । देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स स्पेसल मेन्सन’मा पर्न सफल फिल्म बन्यो ।
पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौवटा लघु चलचित्र प्रदर्शन गरिएको थियो । बीस वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई आठदेखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कात्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताउनुभयो ।
फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको सुनाउनुभयो । उहाँका अनुसार फिल्म अत्यन्तै सृजनात्मक विधा हो र युवाहरूको मस्तिष्क सृजनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोग गर्न पहल गरेको हो ।