काठमाडौँ, २७ मङ्सिर : मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाउने गरेको नाच सम्पन्न गरिएको छ । रणजीत मल्लको पालामा सुुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन अर्थात् आज नाच सम्पन्न गरी फर्कने चलन छ । नवदुर्गा, भैरव, गणेशलगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउँछन् । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका विषयमा खोज गरिरहनुभएका मुकुन्दराज वैद्यले राससलाई जानकारी दिनुभयो ।
नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको पनि उहाँले बताउनुभयो ।
नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । विगत वर्षमा कम्तीमा पनि दुई सयभन्दा बढी नवदुर्गाका गण आउने गरेका थिए । यस वर्ष पनि जात्राको विधि पूरा गरिएको विसं २०३९ देखि नै यो जात्रालाई सहयोग एवं समन्वय गर्दै आउनुभएका काठमाडौँ महानगरपालिका वडा नं ८ का पूर्ववडाध्यक्ष सुवर्ण वैद्यले बताउनुभयो ।
जयवागेश्वरी ल्याएपछि देवीलाई पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका तर्फबाट बलिसहित पूजा दिने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरणसमेत छन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमी लगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर देखाउने परम्परा छ । विसं २०३० तिर बनेपामा देवी नाच चलिरहेका बेला एक व्यक्तिले गिज्याएपछि नाचिरहेका गणले लगाएको चुराले आगलागी भएको वैद्यको स्मरणमा अझै ताजा छ ।
पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् । विगतमा हरिसिद्धि र नवदुर्गाको नाच जयवागेश्वरीमा एकैपटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको जानकारहरू बताउँछन् ।
जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ । यो जात्रालाई विसं २०३९ देखि नै स्थानीयवासीले पैसा उठाएर सहयोग गर्दै आएका छन् । यसको व्यवस्थापन हाल जयवागेश्वरी युवा क्लबले गर्ने गरेको पूर्वअध्यक्ष दिलीप वैद्यले बताउनुभयो । नवदुर्गाका गणलाई जयवागेश्वरीवासीले घर—घरमा लगी टीका लगाइदिने, मीठा कुरा खान दिने आदि फर्माइस पूजाको परम्परा रहेको छ ।
यो नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ । जात्रा सकी आज नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्कन्छन् ।