काठमाडौं । वैदेशिक रोजगार बोर्डमा कार्यरत उपसचिव टिकाराम ढकालको रचना एवं निर्माण रहेको गीत ‘छोरो गयो परदेश’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको अनामनगरमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा उपसचिव ढकालले गीतमा वैदेशिक रोजगारको विषयवस्तुलाई समेटिएको बताए । उनले भने ‘गीतमा सरकारलाई गाली गरेको मात्रै नगरेर निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं, छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं । अब समृद्धि हुन्छ । त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण बन्छ । भन्ने सन्देश भिडियोको कन्सेप्टमा देखाउन खोजिएको छ ।’ ढकालले ‘छोरो गयो परदेश’ को गीत आफ्नो पहिलो कोसेलीको रुपमा ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरे ।
भिडियोमा कपिल कार्कीको निर्देशनमा गायक डिजराज पौडेलले स्वर दिएका छन् । म्युजिक भिडियोमा नारद खतिवडा, दिपेन्द्र खत्री, डिजराज पौडेल, टेकराम ढकाल, मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ । वैदेशिक रोजगारी प्रति वर्तमानमा देखिएका समस्या र नकारात्मक धारणालाई सुधार गरी सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनु जरुरी देखिएको सन्देश मुलक भावना रचनाकारले दिन खोजेका छन् । विदेशबाट कमाएर ल्याएको सीप, पूँजी र राट्रप्रेमले एकदिन हाम्रो देश आफैं समृद्ध बनी विदेशीहरु नेपालमा रोजगारीका लागि आउने अवस्था हुने विश्वास गीतले व्यक्त गरेको छ ।